स्वास्थ्य मन्त्रालयले तोक्यो सातै प्रदेशमा सम्पर्क व्यक्ति

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ९ : २६


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भइरसको संक्रमणको रोकथाम, उपचार तथा व्यवस्थापनमा हालसम्म भएका कामको अनुगमन र तेस्रो लहर व्यवस्थापनका लागि सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकेको छ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीस्तरीय निर्णय गर्दै सम्पर्क व्यक्ति तोकेका हुन्।

स्वास्थ्य मन्त्रालयले तेस्रो लहरको व्यवस्थापनका लागि प्रदेश १ मा डा मदन उपाध्याय, प्रदेश २ मा डा प्रकाश साह, बागमतीमा डा गुणराज लोहनी, गण्डकीमा नारायण ढकाल, लुम्बिनीमा डा पवनजंग रायमाझी, कर्णालीमा डा अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा डा कृष्ण पौडेललाई सम्पर्क व्यक्ति तोकेको हो।

प्रदेश र स्थानीय तहमा भएको कोभिड–१९ को प्रतिकार्य तथा सम्भावित तेस्रो लहरको व्यवस्थापनको तयारीका लागि सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकिएको मन्त्रालयले जनाएको छ।

सातै प्रदेशका सम्पर्क व्यक्तिले स्थानीय तह तथा प्रदेशमा कोरोना प्रतिकार्यका विषयमा छलफल गर्ने तथा तेस्रो लहरको तयारीको व्यवस्थापनको कार्यमा संलग्न हुनुपर्नेछ।


प्रतिक्रिया दिनुहोस्