ओली भन्छन्ः जनताको प्रिय सरकारलाई ढाल्न अपवित्र गठबन्धन बनाइयो

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ५ : ०८


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पालाको सरकारलाई जनप्रिय र अहिलेको सरकारलाई अपवित्र गठबन्धनको संज्ञा दिएका छन्।

सोमबार तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आयोजित स्थायी कमिटी बैठकमा उनले अहिलेको सरकार अपवित्र गठबन्धन भएको बताएका हुन्।

उनले भनेका छन्,‘अहिलेको सरकार लोकतान्त्रिक बाटोबाट होइन अपवित्र गठबन्धन बनेर भएको हो।’

साथै उनले आफ्नो पालाको सरकार जनप्रिय भएको बताउँदै भने, ‘साँठगाँठ गरेर बनाइएको देशभक्त शक्तिविरूद्ध यो गठबन्धन बनेको हो। जनप्रिय सरकारलाई ढाल्न बनाइएको गठनबन्धन हो।’

हाल प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत सत्ता गठबन्धनमा छन्।

यस्तै सो बैठकले पार्टीमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने गरी विधान संशोधनको प्रस्ताव गरेको छ।


प्रतिक्रिया दिनुहोस्