गोरखामा एक वर्षमै लटरम्म स्याउ फलेपछि ढुवानी गर्न बारीभित्रै बनाइयो हेलिप्याड

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  १ : ४०


उत्तरी गोरखाका नामरुङमा बेर्ना सारेको एक वर्षमै स्याउ फल्न शुरु गरेको छ।

गण्डकी प्रदेश सरकारले किसानको आयआर्जन वृद्धिका लागि गत वर्ष अनुदानमा वितरण गरेको इटालियन जातको उन्नत बेर्ना वितरण गरेको थियो।

चुमनुब्रीगाउँपालिका–४ स्थित नामरुङको पोरमा लगाइएको करिब चार हजार भन्दा बढी बोटमा स्याउ फल्न थालेको वडाध्यक्ष पेमाडुन्डुप लामाले जानकारी दिए।

‘चुमनुब्रीकिसान समूहलाई गत वर्षका असारमा प्रदेश सरकारले उपलब्ध गराएको इटालियन जातको गोल्डन, फुजी, गाला, रेड डेलिसेस र किङग डेलिसेस जातका बिरुवाले एकै वर्षमा राम्रो उत्पादन दिन थालेको छ’ उनले भने, “गत वर्षको असारमा बेर्ना सारिएको थियो, अहिले बोटमा राताम्मै फलेको छ।”

त्यहाँ स्थानीय किसानले मिलेर समूहमा व्यावसायिक स्याउ खेती गर्न शुरुआत गरेका थिए।

प्रदेश सरकारको ७० प्रतिशत अनुदानमा कूल चार हजार ३७० बोट स्याउ रोपिएको वडाध्यक्ष लामाले जानकारी दिए।

‘रोपिएकामध्ये ११४ बोट हुर्किएनन् । अरु सबै बोट राम्रोसँग हुर्किएका छन्’ उनले भने,“पहिलो वर्षमा नै सोचे भन्दा धेरै राम्रो फलदिन थालेको छ।” एउटै बोटमा २० केजीसम्म स्याउ फलेको उनको भनाइ छ।

नयाँ र कलिला बोटले धान्न नसक्ने भएपछि छाँटकाँट शुरु गरिएको छ । “अहिले एउटा बोटमा पाँच केजीसम्म बढी फलेका छन्, वडाध्यक्ष लामाले भने, “साना बोटले त्यो भन्दा बढी धान्न नसक्ने भएपछि दाना टिपेर फाल्नु प¥यो।”

यस्तै स्याउ धेरै फलेपछि त्यसलाई चाँडै ढुवानी गर्न बारीभित्रै हेलिप्याड पनि बनाइएको बताइएको छ। रासस


प्रतिक्रिया दिनुहोस्