चार प्रान्तीय शहर कब्जा गरेपछि उच्च मनोबलमा तालिबान, देशै कब्जा गर्ने दृढता

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ९ : ३४


अफगानिस्तानको विद्रोही समूह तालिबानले देशका मुख्य मानिएका चार प्रान्तीय शहर कब्जा गरेका छन्।

समाचार संस्था एएफपीका अनुसार तालिबानले शुक्रबारयता चार प्रान्तीय शहर सरकारी सेनाबाट नियन्त्रणमा लिइसकेको छ।

सो क्रममा दुवै पक्षबीच भीषण लडाइ भएको बताइएको छ। शुक्रबार तालिबानले निमरोज प्रान्तको राजधानी जरान्ज नियन्त्रणमा लिएका थिए।

यस्तै आइतबार मात्र थप दुई प्रान्त कब्जा गरेको तालिबानको दाबी छ। ग्रामीण क्षेत्र लगभग आफ्नो नियन्त्रणमा लिएको तालिबानले मुख्य शहरहरुमा आक्रमण थालेको छ।

आइतबार मात्र उसले कुन्दुज प्रान्तको राजधानी पनि कब्जा गरेको बताएको थियो। यसबीचमा अमेरिकी र अफगानी सेनाले संयुक्त कारवाही गरेका छन्।

यद्यपी उनीहरुको आक्रमणबीच लडाकुहरु शहरहरुमा प्रवेश गर्न सक्नुलाई तालिबान निकै शक्तिशाली भएको प्रमाण हो। मुख्य शहरमा आफ्नो उपस्थिती देखाउनसक्नुले तालिबानको देश कब्जा गर्ने मनोबल थप उच्च भएको विश्लेषण गरिएको छ।

Afghan airstrikes kill 21 insurgents in southern Helmand province «

सन् २०२० फेब्रुअरी २९ मा अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीच अफगानिस्तानमा ‘शान्ति र स्थायित्व’ बहाल गर्ने सम्झौता भएको थियो।

कतारमा भएको सम्झौताअनुसार १४ महिना भित्र नेटोका सेनाहरु घर फर्किए आफूले हिंसा नमच्चाउने र शान्ति प्रक्रिया अगाडि बढाउने तालिबानको भनाइ थियो।

अमेरिकाले ३१ अगस्ट भित्र आफ्ना सबै सेनालाई अमेरिका फर्कन आदेश दिइसकेको छ।

नेटोमा आवद्ध बेलायत लगायतका राष्ट्रले अमेरिकाले तोकेको समय अगावै आफ्ना सबै सेना फर्काइसकेका छन्।

आगामी सेप्टेम्बर ११ भित्र विदेशी सेना फर्किसक्नु पर्ने तालिबानको माग छ। यदी ती सेनाहरु अझै अफगानिस्तानमा रहे आफूले ती सेनालाई देश कब्जा गर्न बसेका लडाकु सम्झिने तालिबानले बताएको छ।

तर यतिबेला अफगानिस्तानबाट नेटोका सेनाहरु धमाधम फर्कन थालेपछि तालिबानले आक्रमण चर्काएको छ।

त्यहाँ शान्ति बहाल हुनेभन्दा गृहयुद्धले अग्र रुप लिएको देखिएको छ। यतिबेला तालिबानले सरकारी सेनाविरुद्ध आक्रमण गर्दै कयौं स्थान नियन्त्रणमा लिएका छन्।

अमेरिकी सेनाले फेरि सरकारी सेनालाई तालिबानविरुद्ध सघाउँदा गृहयुद्ध अन्त्य नहुने लक्षण देखिएको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्