तीन पटक इरानको राष्ट्रपतिका उम्मेदवार , आज बने तेहरानको मेयर

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ९ : ३४


इरानको राष्ट्रपति पदका लागि उम्मेदवारी दिनुभएका एक नेता इरानकै एउटा सहरको मेयरमा निर्वाचित हुनुभएको छ ।

इरानको प्रतिनिधिसभाको सांसदसमेत भइसक्नु भएका एलिरेज जाकिनी इरानको राजधानी तेहरान सहरको मेयरमा निर्वाचित हुनुभएको हो ।

उहाँ मेयरमा निर्वाचित भएको आइतबार घोषणा गरिएको छ । उहाँले आफ्नो नगरमा रहेका लागुऔषध दुव्र्यसनी, बाल मजदुरी, मगन्तेलगायतका समस्या समाधान गर्ने अठोट गर्नुभएको छ ।

लामो समयदेखि राजनीतिमा सक्रिय जाकानीले सन् २०१३, २०१७ र २०२१ मा राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गर्नुभएको थियो ।

सन् २०१३ र २०१७ मा उहाँको उम्मेदवारीलाई आधिकारीक निकायले अयोग्य घोषणा गरेको थियो भने हालै सन् २०२१ मा भने उहाँले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिनुभएको थियो ।

हालै निर्वाचित इब्राहिम रायसीलाई समर्थन गर्दै उहाँले उम्मेदवारी फिर्ता लिनुभएको हो । रायसीलाई निर्वाचित गराउन उहाँले प्रमुख प्रचारकको रूपमा भूमिका खेल्नु भएको थियो । त्यसको बदलामा रायसीले पनि जाकानीलाई निर्वाचित गराउन भूमिका खेल्नुभएको थियो ।

अहिले झण्डै ५५ वर्ष हुनुभएका जाकानीका श्रीमती र तीन सन्तान छन् । तेहरान चिकित्सा शिक्षा विश्वविद्यालयमा अध्ययन गर्नुभएका जाकानी इरानी अनलाइन पत्रिका र साप्ताहिक पत्रिकाको सञ्चालकसमेत हुनुहुन्छ ।


प्रतिक्रिया दिनुहोस्