गहभरी आँशु पार्दै मेस्सीले भनेः बस्ने मन हुँदा पनि क्लब छाड्नु पर्यो, बार्सा फर्कनेछु

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ६ : १७


अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले फुटबल क्बल बार्सिलोना फर्किने वाचा गरेका छन्।

बार्सा छाडेर जान अगाडि आयोजना भएको पत्रकार सम्मेलनमा मेस्सीले पीएसजीमा अनुबन्ध हुने विषयलाई नकारेनन्।

उनले पीएसजी जाने सम्भावना भएको बताउँदै बार्सामै बस्ने मन हुँदा पनि क्लब छाड्नुपर्दा दुःख लागेको उल्लेख गरे।

यद्यपी उनले क्लब फर्कने वाचा भने गरेका छन्। उनले बार्सामै फर्किने र क्बललाई झन् बलियो बनाउने चाहना भएको बताएका हुन्।

आइतबार बार्सिलोनामा आयोजित पत्रकार सम्मेलनमा उनी अधिकाँश समय रोइरहेका थिए। उनको गहभरी आँशु थियो।

उनले बार्सा र आफ्नो बिछोड हुनुको कारण ला लिगाको आर्थिक व्यवस्थालाई दोषी ठहर्याए। मेस्सी बार्सामा आधा तलब घटाएरै बस्न चाहन्थे। क्लबसँग तलब घटाएरै ५ वर्षको सम्झौता हुने मौखिक सम्झौता भएको थियो।

यद्यपी बार्सा ऋणमा रहेका मेस्सीले तलब घटाउँदा समेत उनी बार्सामा बस्न पाएनन्। ऋणमा रहेको क्लबले ला लिगाको सीमित तलबको नियम पालना गर्नुपर्दछ। जसका कारण मेस्सी अति न्यून तलबमा बार्सामा बस्नुपर्ने थियो।

यसअघि क्लबका प्रमुख जोआन लापोर्ताले भनेका थिए,‘मेस्सी क्लबमै बस्न चाहन्छन्, उनी यो निर्णयले खुशी छैनन्। हामी पनि उनी बार्सामै बसुन् भन्ने चाहन्छौं तर हामीले वास्तविकतालाई स्वीकार्नुपर्छ जुन हामी परिवर्तन गर्न सक्दैनौं। उनी जहाँ गएपनि म उनलाई शुभकामना दिन चाहन्छु।’

कीर्तिमानी ६ पटकका बालुन डि’ओर विजेता मेस्सीले आइतबार रुँदै भने,‘म बार्सा छोड्न चाहन्न, बार्सामा बस्न नपाउँदा दुःख लागेको र म घर जाँदा पनि दुखी नै हुनेछु।’

पीएसजी अनुबन्ध हुने सन्दर्भमा मेस्सीले पीएसजी जाने सम्भावना रहेको बताएका छन्। आफूलाई उक्त क्लबबाट सकरात्मक फोन आएको जनाए।

मेस्सी बार्साका सर्वाधिक गोलकर्ता हुन्। उनले ७७८ खेलमा ६७२ गोल गर्दा क्लबका लागि ४ च्याम्पियन्स लिगसहित ३४ उपाधि जित्न मदत गरेका छन्।

स्पेनिस खेल पत्रिका मार्काका अनुसार मेस्सीलाई पीएसजीले स्वागत गर्न आइफिल टावर नै भाडामा लिइसकेको छ। मंगलबारसम्म मेस्सी पेरिस पुगिसक्ने बताइएको छ।

मेस्सीले नेमार जुनियरले भन्दा बढी तलब पाउने पनि समाचारमा जनाइएको छ। मेस्सी औपचारिक रुपमा पीएसजीमा अनुबन्ध भए पीएसजीको च्याम्पियन्स लिग सपना पुरा हुनसक्ने सम्भावना झनै बलियो हुनेछ।

पीएसजीमा नेमार, एमबाप्पे, एन्जल डि मारिया, सर्जियो रामोसजस्ता स्टार खेलाडीहरु छन्। मेस्सीको उपस्थितीले पीएसजी संसारकै बलियो क्लब बन्ने निश्चित छ।

यस्तै २१ वर्षपछि मेस्सीले बार्सा छाडिरहँदा बार्साका समर्थक यतिबेला रुष्ट छन्। मार्का, बीबीसी र एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्