सत्ता गठबन्धन कार्यदलका संयोजक खड्का भन्छन्- संविधानविपरीत कुनै सिफारिस गरिएको छैन

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ८ : ००


सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न गठित कार्यदलका संयोजक एवं नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले संविधान विपरीतका कुनै विषय कार्यक्रममा नराखिएको बताएका छन्।

कार्यदलले बुझाएको कार्यक्रममा संविधान विपरीतका कुनै विषय सिफारिस गरिएको कार्यदलका संयोजक खड्काले बताएका छन्। सरकार सञ्चालनका लागि कार्यदलले बनाएको न्यूनतम साझा कार्यक्रममा स्थानीय तहलाई प्रदेश मातहत ल्याउन सिफारिस गरेको भन्दै आलोचना भएपछि खड्काले सामाजिक सञ्जालमार्फत् कार्यदलले संविधानविपरीत कुनै कार्य नगरेको स्पष्ट पारेका हुन्।

‘वर्तमान संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा स्थानीय निकायलाई प्रदेशको मातहत ल्याउन कार्यदलले सिफारिस गरेको भनी हिजोदेखि निरन्तर प्रचारित झुटा खबरबाट सृजित अन्योललाई स्पष्ट पार्नु हाम्रो कर्तव्य ठानेका छौं,’ उनले ट्विटरमा भनेका छन्, ‘संविधान विपरीतको यस्तो सिफारिस गर्ने त के. कार्यदलले कल्पना पनि गर्न सक्तैन।’

कार्यदलले शुक्रबार सत्ता गठबन्धनका शीर्ष नेताहरूलाई आफूले तयार पारेको कार्यक्रमको प्रारुप बुझाइसकेको छ। कांग्रेस महामन्त्री खड्का नेतृत्वको कार्यदलमा कांग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सदस्य छन्।


प्रतिक्रिया दिनुहोस्