जापानले दिएको करिब तीन लाख कोरोना विरुद्धको खोप आज नेपाल आइपुग्दै

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ७ : ३६


जापानबाट आज थप करिब तीन लाख डोज अष्ट्राजेनेका खोप काठमाडौं आइपुग्ने भएको छ।

जापानले दिएको १६ लाख डोजमध्ये पाँच लाख १३ हजार ४२० डोज खोप शनिबार काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. उपेन्द्र ढुंगानाले बताए।

उनका अनुसार आज थप दुई लाख ८७ हजार डोज खोप नेपाल आइपुग्नेछ। शनिबार र आइतबार गरी आठ लाख खोप आइपुग्ने बताउँदै उनले बाँकी आठ लाख खोप भने अर्को साता आइपुग्ने जानकारी दिए।

अष्ट्राजेनेका खोप आएसँगै यसअघि पहिलो मात्रा कोभिशिल्डको खोप लगाएका ज्येष्ठ नागरिकलाई दिइनेछ। कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई अष्ट्राजेनेका खोप दिइने स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक गौतमले बिताए।

खोप अभियान भोलिदेखि सञ्चालन हुने उनको भनाइ छ। प्रदेश १ र २ मा भने खोप अभियान केही दिनपछि मात्र सुरु  हुनेछ।


प्रतिक्रिया दिनुहोस्