‘द भ्वाइस अफ नेपाल ३’ काे उपाधि किरण गजमेरलाई, लगातार दोस्रोपटक टिम प्रमोदकै पोल्टामा उपाधि

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ७ : २२


गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’ काे उपाधि किरण गजमेरले जितेका छन्। शनिबार राति भएको फाइनलमा अन्य तीन प्रतिष्पर्धीलाई भोटका आधारमा पछि पार्दै गजमेरले उपाधि रक्षा गरेका हुन्।

उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन्। किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए। ब्लाइन्ड अडिसनमा ‘देखेर तिमीलाई’ बोलको गीत गाएर उनले ‘कोच प्रमोद’ रोजेका थिए।

अमेरिकाबाट भ्वाइसकै लागि भनेर नेपाल आएका किरण आठ महिनादेखि नेपालमा छन्।

झापाको खुदुनाबारी शिविरमा रहेकै बेला सन् २००५ मा पहिलो बाल गीत रेकर्ड गराएका किरणले ‘रातको चन्द्रमालाई’ बोलको गीत गाएपछि चर्चामा आएका थिए।

किरणले यसबीचमा ‘राधा’, ‘साढे सात’ लगायत चलचित्रमा पनि स्वर दिइसकेका छन्। उनले यसअघि इमेज एफएम, कालिका एफएम लगायतका चर्चित अवार्डहरू हात पारिसकेका थिए।

यसैगरी, टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला राई फाइनलिस्ट भएका छन्। यी तीनैजना फाइनलिस्टले द भ्वाइसकाे ट्रफी पाएका छन्। एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको आयोजकले जनाएको छ।

एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए। शनिबारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए।

किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद दिएका छन्। किरणले भने–‘म यो मायाको लागि सधैं नै ऋणी भएको छु। मैले, अब नेपाली संगीतबाट केही लिने भन्दा पनि केही दिने बेला आएको छ।’

टिम प्रमोदको प्रतिस्पर्धीले लगातार दोश्रो पटक भ्वाइस अफ नेपालको टाइटल जितेका छन्। यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बुले यो उपाधि जितेका थिए। भ्वाइस अफ नेपालको पहिलो उपाधी टिम दीपका सिडी विजय अधिकारीले जितेका थिए।


प्रतिक्रिया दिनुहोस्