वडाका ३ वटा स्थानमा भेरोसेल खोपको व्यवस्था गर्न काठमाडौंबासीको माग

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  १ : १४


 

काठमाडौंका स्थानीयबासीले वडाका ३ वटा स्थानमा भेरोसेल खोपको दोस्रो डोजको व्यवस्था गर्न सरकारसँग माग गरेका छन ।

शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित रत्नराज्य माध्यामिक विद्यालयमा दोस्रो चरणको भेरोसेल खोप लगाउन पुगेका स्थानीयहरुले खोप लगाउन धेरैको बाँकि रहेको उल्लेख गर्दै हरेक वडाको ३ वटा स्थानमा खोप दिने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन । हिजो (शुक्रबार)बाट सुरु भएको खोप काठमाडांै महानगरपालिका ३२ वटै वडाको १/१ स्थानबाट दिने व्यवस्था गरिएको छ । तर दोस्रो चरणको भेरोसेल खोप लगाउन नपाएकाहरु धेरै भएकाले वडामा ३ वटा स्थान तोकि सबैले खोप लगाउन पाउने व्यवस्था सरकारले गर्नुपर्ने स्थानीय ताराबहादुर खड्काले माग गर्नु भयो । उहाँले भन्नु भयो, ‘धेरै बाँकि छन्–भेरोसेल खोपको दोस्रो डोज लगाउनेहरु । एउटा वडामा ३ वटा ठाउँ तोकि सबैले खोप लगाउने पाउने व्यवस्था सरकारले गरिदिए अझै राम्रो हुने थियो । खोप सहज ढंगले लगाउन पाएकोमा सरकारलाई धन्यवाद ।’

यता, स्थानीय तहले भने आम नागरिकलाई सहज ढंगले खोप दिने व्यवस्था गरिएको दावी गरेको छ । कामनपा–१० का वडाध्यक्ष रामकुमार केसीले भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि आफूहरुले राम्रो व्यवस्था गरेको बताउनु भयो । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, महिलाहरुका लागि लाईन नबसी खोप लगाउने व्यवस्था गरिएको उहाँको दावी थियो । वडाध्यक्ष केसीले भन्नु भयो, ‘राम्रोसँग दोस्रो डोजको खोप लगाउने व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अशक्त महिलाहरुका लागि लाईन नबसी खोप लगाउने व्यवस्था गरिएको छ ।’

काठमाडौं महानगरपालिकाले भोली (आईतबार) सम्म यो खोप लगाउने व्यवस्था गरेको छ । तोकिएका सबै खोप केन्द्रहरुका बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोप लगाउने व्यवस्था गरिएको पनि वडाध्यक्ष केसीले बताउनु भयो ।

 


प्रतिक्रिया दिनुहोस्