नक्कली डिसपी बनेर सुनका बाला लुटपाट गर्ने एकजना पक्राउ

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ९ : ४१


नक्कली डिसपी बनेर सुनका बालाहरू लुटपाट गर्ने एकजना पक्राउ परेका छन्।

भक्तपुर चागुनारायण नगरपालिका-४ बस्ने ३५ वर्षीय सिताराम गुरुङलाई चावहिलबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

सीतारामले आफ्ना सहयोगीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा पठाएर विदेशबाट फर्किनेहरूको पिछा गर्न लगाउँथे। पछिल्लो समय विदेशबाट फर्किनेहरू धेरैले ५० ग्राम तौल बराबरको सुनको बाला लिएर आउँछन्। त्यस्ता बाला धेरैजसो खाडी मुलुकमा बसेर सुनको काम गर्नेहरुले पठाउँछन्।

सुन बोकेर आउनेहरुलाई सहयोगीले पिछा गरेपछि सीताराम गुरुङ्गले उनीहरु चढ्ने ट्याक्सीलाई बीच बाटोमा रोकेर ‘डिएसपी हुँ’ भनेर चेकजाँच गर्ने गरेका थिए। सहयोगीलाई हवल्दार र असईको भूमिका दिएर चेकजाँच गरेपछि उनको समूह सुन लिएर भाग्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

सीतारामको समूहले ६ ठाउँमा त्यसरी सुनका बाला लुटेको थाहा भएको छ। उनले बसपार्क क्षेत्रबाट लुटपाट गरेको जानकारी प्राप्त भएकोले थप अनुसन्धान तथा कारबाही लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज राखिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्