रिसिङका पहिरो पीडितलाई मुख्यमन्त्री पोखरेलले हस्तान्तरण गरे राहत

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ९ : ०९


गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँ जिल्लाको रिसिङ गाउँपालिकामा बाढीपहिरोबाट निधन हुने २ जनाको परिवारलाई राहत हस्तान्तरण गरेका छन्। गाउँपालिका भवनमा शुक्रबार भएको कार्यक्रममा उनले उक्त राहत वितरण गरेका हुन्।

रिसिङका देवीसरा थापा र खुमबहादुर आलेको परिवारलाई संघ सरकारको जनही २ लाख, प्रदेश सरकारको तर्फबाट जनही ५० हजार रुपैयाँ मुख्यमन्त्री पोखरेलले हस्तान्तरण गरे।

खुमबहादुर आले गाउँपालिकाका सुरक्षा गार्ड हुन्। असार २४ गतेको झरीपछि आएको पहिरोमा परी रिसिङमा २ जनाका निधन भएको थियो।

पहिरोले रिसिङका धेरै बस्ती जोखिममा पर्नुका साथै सकडमा क्षति पुगेको छ। सडक खुलाएर तत्काल यातायात सञ्चालन गर्न प्रदेश सरकारले २५ लाख रुपैयाँ उपलब्ध गराएको थियो।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले परिवर्तित राजनीतिक परिस्थितिका कारण गण्डकीमा सरकार फेरिएको भन्दै सीमित स्रोत र साधनबीच पनि प्रदेशवासीलाई सेवा दिन पछि नपर्ने प्रतिबद्धता जनाए।

पञ्चायतकालमा राजनीतिक संगठनका लागि रिसिङमा पुगेको स्मरण गर्दै उनले उक्त क्षेत्रको विकासका लागि स्थानीय तह, प्रदेश र संघ सरकार मिलेर अगाडि बढ्नुपर्ने बताए। कालीगण्डकी डाइभर्सनका बारेमा स्थानीयले राखेको चासोबारे सम्बोधन गर्दै उनले कुनै पनि हालतमा यो आयोजना सञ्चालन हुन नदिने भनाइ राखे।

उनले भने, ‘बुटवलमा कार्यालय खुलेदेखि नै गण्डकी प्रदेश सरकारले यो आयोजनाको विरोध गरेको छ, सर्बपक्षीय बैठक नै गरेर पनि धारणा सार्वजनिक गरेका छौं, डाइभर्सन कुनै हालतमा हुँदैन।’

पोखराबाट नवलपुर जोड्नका लागि व्यवस्थित सडक नभएकोतिर इंगित गर्दै उनले यसका लागि अहिले झ्यालवास डेढगाउँ सडकलाई सरकारले प्राथमिकतामा राखेको भनाइ राखे। अहिले डबल लेनको बन्ने सडक ठेक्का प्रक्रियामा गइसकेको छ।

कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोखरेल, झुलबहादुर आले, गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दल सचेतक ओमकला गौतम, प्रदेश सभा सदस्य डोबाटे विक, सरीता गुरुङले प्राकृतिक विपत्तिले रिसिङमा ठूलो क्षति पुर्‍याएको भन्दै यसका लागि ३ वटै तहका सरकारले समन्वय गरेर काम गर्न आग्रह गरे।

तनहुँका प्रमुख जिल्ला अधिकारी सागरराज आचार्यले घर क्षति भएकाहरूलाई पुनर्स्थापनका लागि प्रतिघर ४ लाख रुपैयाँ उपलब्ध गराउने बताए। जसमा संघको ६०, प्रदेशको ३० र स्थानीय तहले १० प्रतिशत लगानी गर्नुपर्ने तनहुँका प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।
तनहुँमा यो वर्ष बाढीपहिरोमा ६ जनाले ज्यान गुमाएका छन्। रिसिङ, भानु र बन्दीपुर गाउँपालिकामा धेरै क्षति भएको छ।

मुख्यमन्त्री पोखरेलले शुक्रबारै जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको अवलोकन गरेका छन्। कोभिड महामारीका बेला अस्पतालले देखाएको सक्रियताको प्रशंसा गर्दै उनले अस्पतालको क्षमता वृद्धिका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए।

यसैबीच, शुक्रबार साँझ गृह जिल्ला नवपुर आइपुगेका मुख्यमन्त्री पोखरेलले आज लोकाहा खोलामा प्रस्तावित औद्योगिक क्षेत्रको अवलोकन गर्ने कार्यक्रम तय भएको छ।

नारायाणी नदीको कटान अवलोकन, स्थानीय नेता कार्यकर्तासँग भेटघाट गरी आइतबार बिहान पोखरा फर्कन कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्