प्रधानमन्त्रीसँग पूर्वप्रहरी प्रमुखहरूको माग- प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने निर्णय खारेज गरिदिनुस्

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ७ : २१


नेपाल प्रहरीका १५ जना पूर्वमहानिरीक्षक (आइजीपी)हरुले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने निर्णय खारेज गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन्।

केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिष्ठान सार्न गरेको निर्णय फिर्ता लिन उनीहरुले देउवालाई आग्रह गरेका हुन्।

ओली सरकारले २०७५ भदौ २१ गते मन्त्रिपरिषद्को निर्णयबाट प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको पनौती नगरपालिकाम सार्ने र हाल एकेडेमी रहेको काठमाडौंको महाराजगञ्जस्थित जग्गामा राष्ट्रपतिका लागि हेलीप्याड बनाउने निर्णय गरेको थियो।

तत्कालीन सरकारले ११४ रोपनी ३ आना सो जग्गा राष्ट्रपतिको कार्यालयको नाममा नामसारी गर्ने निर्णय गर्दा त्यतिबेला पनि सरकारको आलोचना भएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिप्याड बनाउने ठाउँ अभाव भएको र एकेडेमीमा हुने तालिमले राष्ट्रपतिलाई ‘डिस्टर्ब’ भएको तर्क गर्दै ओली सरकारले उक्त निर्णय गरिएको थियो।

पूर्वप्रहरी प्रमुखहरुले सरोकारवालाहरुसँग उचित परामर्श नगरिकनै ओली सरकारले गरेको सो निर्णयले नेपाल प्रहरीको मनोबलमा नकरात्मक असर पर्ने जनाएका छन्।

पूर्वआईजीपीहरु मोतिलला बोहोरा, अच्युतकृष्ण खरेल, ध्रुबबहादुर प्रधान, प्रदीप शमशेर राणा, श्यामभक्त थापा, ओमविक्रम राणा, हेम गुरुङ, रमेश चन्द ठकुरी, रवीन्द्र प्रताप शाह, कुबेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीले बुधबार प्रधानमन्त्री देउवालाई भेटेर ज्ञापन पत्र बुझाएका हुन्।

त्यसक्रममा प्रधानमन्त्री देउवाले आफूले यस विषयमा छलफल गर्ने बताएका छन्। पूर्वआईजीपी मोतिलाल बोहोराले राजधानीको केन्द्रमा रहेको सुरक्षा अंग हटाएर हेलीप्याड बनाउने योजना गलत भएको बताए।

नेपाल प्रहरीका लगभग ८० हजार बहालवाला प्रहरी र लाखौंको संख्यामा रहेका पूर्वप्रहरी कर्मचारीहरुको ऐतिहासिक एवं भावनामा प्रत्यक्ष कुठाराघात गर्ने गरी भएको निर्णय खारेज गर्न उनीहरूको माग छ।


प्रतिक्रिया दिनुहोस्