एमाले विवाद : माधव नेपाल समूहको बैठक बस्दै, ओली समूहले भन्यो- अवैधानिक हो

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ७ : २८


नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय सदस्यहरूको बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे शंखमुलस्थित क्वालिटी पार्टी प्यालेसमा बस्ने गरी आह्वान गरिएको छ।

यसअघि बुधबारका लागि बैठक तय गरिएको थियो। तर, केन्द्रीय सदस्यहरु उपत्यकाबाहिर रहेकाले बैठक आजलाई सारिएको थियो।

एमालेभित्रको एकता र भावी रणनीतिका विषयमा छलफल गर्न नेपालले केन्द्रीय सदस्यहरूको बैठक बोलाइएको नेताहरूले बताएका छन्।

सर्वाेच्च अदालतले गत फागुन २३ गते नेकपा नाम विवादमा एमाले र माओवादी केन्द्र ब्युँताएको थियो। त्यसपछि एमालेभित्र नेपाल पक्षले फरुक पार्टीको अभ्यास गरिरहेको छ।

एमाले एकताका लागि गठित १० सदस्यीय कार्यदलले १० बुँदे सहमतिको प्रस्ताव तयार पारेको छ। जसलाई नेपाल पक्ष अनुपस्थित एमालेको बैठकले अनुमोदन गरिसकेको छ।

पछिल्लो समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल पक्षका २२ सांसदले विश्वासको मत दिएका थिए।

यता, नेपाल समूहको बैठकलाई अध्यक्ष केपी शर्मा ओली पक्षले भने आपत्ति जनाएको छ। यो पक्षले बैठक अनधिकृत भनेको छ।

बुधबार साँझ केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले एक विज्ञप्ति निकाल्दै आज बस्न लागेको नेपाल पक्षको केन्द्रीय कमिटी बैठक अनधिकृत भएको बताएका छन्।

‘श्रावण २१ गते एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँदछ। पटकपटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरीत हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्याकर्ताहरुमा अपिल गर्दछ,’ तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस्