सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि, शीर्ष नेतालाई प्रतिवेदन बुझाउने तयारी

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ७ : ५७


सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन सत्ता गठबन्धनको कार्यदलको बैठक आज पनि बस्दैछ।

गठबन्धनले सरकारका ११ बुँदे प्राथमिकता र मन्त्रीहरूको १४ बुँदे आचारसंहिता बनाएको छ । यद्यपि, आज शीर्ष नेताहरूसँगको परामर्शपछि मात्रै साझा न्यूनतम कार्यक्रमलाई अन्तिम रूप दिने गठबन्धनको तयारी छ।

कार्यदलको बैठक मंगलबार बिहान र बेलुकी दुईपटक प्रधानमन्त्रीनिवासस बालुवाटारमा बसेको थियो। आजको बैठकले गठबन्धनका तर्फबाट सरकारका न्युनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिनेछ।

मन्त्रिपरिषदलाई पूर्णता, मन्त्री छनोट गर्ने मापदण्ड, संवैधानिक तथा राजनीतिक नियुक्ति सम्बन्धी कार्यविधि, आचरण र नीतिसहित प्रतिवेदन तयार पार्न कार्यदल जुटिरहेको छ।

गठबन्धनले सरकार सञ्चालनमा सघाउन कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा कांग्रेस नेता मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल बनाएको छ।

कार्यदलले बनाएको संयुक्त सरकारका नीति र कार्यक्रममा कोभिड– १९ बाट उत्पन्न विपत्तिबाट मुक्ति, राष्ट्रिय हितको सम्वर्द्धन तथा संघीयताको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण विषय समावेश गरिएको छ।

शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रूपान्तरण, तात्कालिक राहत, पुनर्निर्माण र पुन:स्थापना, पर्यावरणीय सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्धका विषय पनि कार्यदलले प्रतिवेदनमा राखेको छ।

साझा कार्यक्रमसहित कार्यदलले प्रतिवेदन बुझाएपछि गठबन्धनका शीर्ष नेतृत्वले भावी रणनीति निर्धारण गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन्।


प्रतिक्रिया दिनुहोस्