सरकारले कुलमानलाई ल्याउन चाहेपनि विद्युत प्राधिकरणको सिइओबाट राजीनामा नदिने मुडमा शाक्य

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ७ : २६


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले यसअघिका सिइओ कुलमान घिसिङलाई पुनः नियुक्त गर्ने तयारी गरेको छ।

त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै उर्जामन्त्री पम्फा भुसाललाई नियुक्त गर्न निर्देशन समेत दिइसकेका छन।

हाल नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य छन।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको यसअघिको सरकारले गत भदौमा ३ वर्षका लागी कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

देउवा सरकारले शाक्यको प्राधिकरणमा कुलमानलाई ल्याउन चाहेपनि विद्युत प्राधिकरणको सिइओबाट राजीनामा नदिने मुडमा हितेन्द्र शाक्य रहेको बताइएको छ।

आफूसँग उर्जामन्त्रीले राजीनामा मागेको भन्दै उनले भोलि पत्रकार सम्मेलन गर्ने भएका छन।

प्रधानमन्त्री देउवाले नभई ऊर्जामन्त्री पम्फा भुसालले आफ्नो राजीनामा माग गरेको शाक्यको भनाइ छ। यसबारे उनले भोलि पत्रकार सम्मेलन गरेरै जानकारी दिन लागेका हुन।

शाक्यले भनेका छन्, ‘राजीनामाबारे सोंचेको छैन अब सरकारले अदालत जान बाध्य पारे जानुपर्ला।’

कुलमानको कार्यकाल सकिएपछि ओली सरकारले शाक्यलाई विद्युतप्राधिकरणको सिइओ बनाएको थियो।

घिसिङ तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको पालामा कार्यकारी निर्देशक भएका थिए।

उनकै पालामा लोड्सेडिङ हटेपछि प्रशंसा भएको थियो । अहिले ऊर्जा मन्त्री फेरि माओवादी केन्द्रकै भागमा परेको छ र शाक्यलाई हटाएर घिसिङलाई ल्याउने प्रयास सुरु भएको छ।


प्रतिक्रिया दिनुहोस्