केपी ओलीले देशभरिका तुइन विस्थापित गर्छु भने तर काम गरेनन् : सांसद नेपाली

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ४ : २५


काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले दार्चुलाको घटना र खोपको विषयलाई लिएर सरकारमाथि खनिएका छन्।

प्रतिनिधि सभाको शुन्य समयमा बोलेका प्रमुख प्रतिपक्षका सांसदहरुले दार्चुला घटनामा सरकार मौन बसेको आरोप लगाएका छन्।

भारत सरकारका विरुद्ध बोल्न नसकेको, कम्र्फटेवल भएको भन्दै निन्दा गरेका छन्।

प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि आफु बसेको स्थानबाट उठेर सरकारको ध्यानाकर्षण गराएका नेकपा एमालेका सांसदहरुले शुन्य समयको भरपुर उपयोग गरेका छन्।

सरकारले छानविन समितिको निष्कर्ष आउनुअघि धारणा सार्वजनिक उचित नहुने बताइरहेका बेला सरकारले भारतीय राजदूतलाई बोलाएर स्पष्टिकरण लिनुपर्ने आवाज उठेको छ।

त्यसैगरी सत्तारुढ दलका सांसदहरुले पनि समसामयिक विषयमा आफ्नो धारणा राखेका छन्।

सांसद विमला नेपालीले ३ वर्ष अगाडी नै प्रधानमन्त्री केपी शर्मा ओलीले तुइन विस्थापित गर्ने घोषणा गरेको भएपनि हालसम्म विस्थापित हुन नसकेको भन्दै नेताहरुले सक्ने काम बारे मात्रै बोल्न सुझाएकी छन।

उनले नेताले जनतालाई झुक्याउनुनहुनेमा सचेत गरराएकी हुन।

उनले भनिन्– ‘केपी शर्मा ओलीले पहिलो निर्णय नै एक वर्षभित्रमा देशैभरीका तुइन विस्थापित गर्छु भन्ने प्रतिवद्धता गर्नुभएको कुरा आज सम्झना आयो । उहाँ ३ वर्ष प्रधानमन्त्री हुनुभयो तर काम भएन । आज हामीले यो दुखद घटना सम्झनुपर्दा उहाँको बोलीको ठेगान थिएन भन्नेकुरा प्रमाणित भएको छ । तसर्थ हामी नेतृत्वमा बस्ने व्यक्तिहरुले सक्ने काम मात्रै गरौँ । नसक्ने काम नबोलौँ । र जनतालाई नझुक्काउ भन्नेकुरा राख्न चाहान्छु ।’

सांसद भरतकुमार साहले राज्य व्यवस्था समितिबाट पास भएर संसदमा आएको नागरिकता सम्बन्धी विधेयकलाई संसदबाट छिट्टै पास गराउनुपर्नेमा सरकारको ध्यानाकर्षण गरगर्राका छन।

उनले सवारी साधनको लाइसेन्स परिक्षा नखुलेको भन्दै त्यसलाई पनि खुलाउनुपर्नेमा जोड दिएका छन।

उनले भने–‘राज्य व्यवस्था समितिले नागरिकता सम्बन्धी विधेयक यस संसदमा पेश गरिसकेको छ। जन्मसिद्धका छोराहरुको नागरिकता नभएर धेरै समस्या छ। इन्जीनियर पास। बिए पास, एमए पास छन्। घुमिरहेका छन्। नोकरी पाएका छैनन्। बेरोजगार छन्। बिदेश जाने पासपोर्ट पनि बनाउन सकेका छैनन्। त्यसकारण म सरकारसँग माग गर्न चाहान्छु, त्यो विधेयकलाई संसदमा छलफल गरेर चाडैँ टुंग्याइयोस्। पास गरियोस् भन्ने कुराहरु म निवेदन गर्न चाहान्छु। अर्को कुरा गाडी, मोटरसाइकलहरुको लाइसेन्सको धेरै दिनबाट खुलेको छैन। यसलाई चाडै खुलाइयोस्।’

सांसद भिमसेन दास प्रधानले विदेश जाने श्रमिकहरु खोप लगाएको प्रमाणित गर्न भीडभाड गर्दै लाइनमा बस्नुपरेको भन्दै त्यसलाई सहज बनाउन सरकार समक्ष माग गरे।

उनले भने – ‘श्रमिकहरु बीचमा ३/४ बजेदेखि लाइनमा बस्नुपर्ने, तर १२ बजेपछि टोकन छैन भनेर फर्काइदिने। अस्तव्यस्त छ। गाउँबाट आएका धेरै युवाहरु फ्रस्टेशन छन्। डिजिटल डिस्प्ले राखोस् । टोकन दिओस् । सरकारको ध्यानाकर्षण गराउन चाहान्छु।’

सांसद भुमि प्रसाद त्रिपाठीले दार्चुला घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्नुभयो । वर्तमान सरकार भारतीय दादागिरीका सामु निरिह भएको उनको टिप्पणी छ।

उनले भने–‘सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न, दोषीलाई कारबाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपुर्ति दिलाउन सरकारको गम्भिर ध्यानाकर्षण गराउँदछु। वर्तमान सरकार भारतीय दादागिरिका सामु निरिह साबित भएको छ । यो सरकार नेपाली नागरिकका लागि होईन। अरु कसैको लागि कम्र्फटेवल भएको चर्चा सर्वत्र सुन्न पाइन्छ। हेक्का रहोस् गोरु सधैँ व्याउँदैन। लोकतन्त्रमा जनता नै भगवान हुन्।’

सांसद मनकुमारी जिसीले केही महिनाअघि दुई राउटे युवतीलाई अमानविय व्यवहार गरिएको र उनीहरुको जीवन नै जोखिममा रहेको प्रचार प्रसार भइरहेको भन्दै उनीहरुको हालको अवस्था सार्वजनिक गर्न सरकारसँग माग गरिन।

उनले भनिन्–‘सम्झना र गाजलु दुई निर्दोष चेलीहरु माथि अमानविय व्यवहार गरियो। सामाजिक सञ्जालमा एकदम भाइरल गराइयो। तिनीहरुलाई न्यायको कठघरामा ल्याएपनि फेरी उनीहरुलाई मृत्युदण्ड दिदैँछन् भन्ने प्रचार प्रसार गरियो । उनीहरुको न्याय होस् र उनीहरुलाई सार्वजनिक गर्दै अझ के कस्तो भइरहेको छ यो बाहिर आओस् यो माग गर्न चाहान्छु।’


प्रतिक्रिया दिनुहोस्