पूर्वकप्तान पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ८ : ३२


नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्। मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै उनले क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता प्रकट गर्दै सन्यासको घोषणा गरेका छन् ।

१५ वर्षको उमेरदेखि सुरु गरेको क्रिकेटको यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षक, खेलाडी, प्रसंशक, सरोकारवालाहरु र परिवाप्रति ऋणी रहने खड्काले उल्लेख गरेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा यात्रा टुंगिएपनि नेपाली क्रिकेटका लागि भने आफ्नो सपना अझै बामे सरिरहेको खड्काले बताएका छन्।

‘२००२ मा १५ वर्षको हुँदा मैले सुरू गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरूप्रति म सदैव ऋणी रहनेछु,’ पारसले लेखेका छन्।

नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको उनले बताएका छन्।

‘क्रिकेटरको रूपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वा गरेँ। मेरो जीवनमा मैले देखेको सपना भनेको नै मैले नेपाली क्रिकेटको उन्नति हो तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरूको संयुक्त प्रयासको आवश्यकता छ,’ उनले लेखेका छन्, ‘इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्‍याउनेछौं।’


प्रतिक्रिया दिनुहोस्