दार्चुला प्रकरणविरुद्ध वैद्य माओवादी निकट विद्यार्थी संगठनद्वारा प्रदर्शन

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ८ : ५६


काठमाडौं । नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले तुइन तर्ने क्रममा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको प्रकरणको छानविन गरी दोषी उपर कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ।

अखिल क्रान्तिकारीले जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको बास्तविकता छानविन गरी दोषीलाई हदै सम्मको कारबाही गर्न माग गर्दै लैनचौरस्थित भारतीय राजदुताबास अगाडी प्रदर्शन गरेको हो।

पटक पटक भारतले नेपाल र नेपालीमाथि ज्यादती र दुव्र्यवहार गरेकाले भारतीय ज्यादती विरुद्ध विरोध प्रदर्शन गरिएको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बताउनुभयो।

उहाँले नेपाल र नेपाली जनताको रक्षाको लागि सरकारलाई ध्यानाकर्षण गराउनुका साथै गम्भिर बन्न पनि अपिल गर्नुभयो।

प्रदर्शनका क्रममा विद्यार्थीहरुले सिमा अतिक्रमण बन्द गर,जयसिंह धामी बेपत्ताको छानविन गर, सम्पूर्ण अतिक्रमित भूमि फिर्ता गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, लिपुलेक लिम्पियाधुरा, कालापानि हाम्रै हो, भारतीय विस्तारवाद मुर्दावाद लगायतका नाराबाजी समेत गरेका थिए।


प्रतिक्रिया दिनुहोस्