सरकारलाई पूर्णता दिने विषयमा छलफल गर्न माओवादीको स्थायी समिति बैठक बस्दै

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ७ : २५


सरकारलाई पूर्णता दिने विषयमा नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दैछ। बैठक दिउँसो ३ बजे माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ। बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल हुने प्रवक्ता नाराणकाजी श्रेष्ठले बताए।

श्रेष्ठले एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीलाई पर्खिँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको र अब एक/दुई दिनमै मन्त्रिपरिषद् विस्तार भइसक्ने बताए। माओवादीले आइतबार पनि स्थायी समिति बैठक गरेको थियो।

बैठकले केन्द्रीय समिति बैठक १० दिन पछि सार्ने निर्णय गर्‍यो। स्थायी समिति बैठकले साउन २० गते तय भएको केन्द्रीय कमिटी बैठकलाई साउन ३० गतेका लागि सार्ने निर्णय गरेको हो।

पछिल्लो घटनाक्रम र आवश्यक तयारीलाई केही समय लिनु उपयुक्त देखिएकाले बैठक १० दिन सारिएको माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठले बताए।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा ब्रिफिङ गरेका थिए। सरकार गठनका बारेमा अहिलेसम्म विकसित घटनाक्रमबारे प्रचण्डले बैठकलाई जानकारी गराएका थिए।

प्रचण्डले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्ष सरकारमा सहभागी नहुने बताएका जानकारी गराएका थ्एि।

‘माधवजीहरु सरकारमा आउनुहुन्न। उहाँको पक्षका सांसदहरु सरकारमा सहभागी हुन आतुर छन्। तर, देउवाजीले माधवजीले नभनेसम्म व्यक्तिगत रुपमा आउनेलाई सरकारमा सहभागी नगराउने भन्नुभएको छ। त्यसैले माधवजीको समूह सरकारमा आउने सम्भावना छैन’, बैठमा प्रचण्डले भनेका थिए।

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई यही साउन २० गतेभित्र पूर्णता दिएरै छाड्नुपर्ने प्रचण्डले बताएका थिए।

असार २९ गते प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् ६ सदस्यीय छ। प्रधानमन्त्रीबाहेक कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादीबाट दुई मन्त्री सरकारमा छन्।


प्रतिक्रिया दिनुहोस्