देउवा सरकारले दमनको बाटो लियो : ओली

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ८ : ५१


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दमनको बाटो लिएको दावी गर्दै प्रतिवाद गर्ने चेतावनी दिनु भएको छ।

अध्यक्ष ओलीले जिल्ला जिल्लाबाट आएका स्काउटका कार्यकर्ताहरुलाई रोक्ने, खाना समेत नदिने, सभा सम्मेलन गर्न नदिएर सरकारले दमनको बाटो लिएको भन्दै प्रतिवाद गर्ने बताउनु भएको हो।

तुलसीलाल स्मृति प्रतिष्ठानले आईतबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारलाई दमन नगर्न खवरदारी समेत गर्नु भयो।

“यी सबै कुराहरुको सम्बन्धमा सरकारलाई हामी खवरदारी पनि गर्दछौं।” अध्यक्ष ओलीले सरकारलाई सचेत गराउँदै भन्नु भयो, “प्रतिवाद गर्छौ र आवश्यक पर्यो भने प्रतिरोध पनि।”

उहाँले ठूलो त्याग, बलिदान र संघर्षबाट जनताको अनुकूल लोकतान्त्रिक शासन व्यवस्था आएको उल्लेख गर्दै त्यस परिस्थितिलाई तलमाथि हुन आफ्नो पार्टीले नदिने दावी समेत गर्नु भयो।

अध्यक्ष ओलीले मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट नेतृत्वको सरकारनै चाहिन्छ भन्ने कुरालाई आफू नेतृत्वको सरकारले पुष्टि गरेको देखाएको बताउनु भयो।

उहाँले माधव नेपाललगायतका नेताहरुले आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढालेर निर्लज्ज, धोकेवाज र बेइमान काम गरेको आरोप लगाउनु भयो।

“पार्टीप्रतिको निष्ठा, इमान सब छोडेर दक्षिणपन्थी शक्तिलाई सहयोग पुर्याउने निर्लज्ज, बेइमान, धोकावाज काम पार्टी भित्रैबाट भयो।”

अध्यक्ष ओलीले आक्रोशित हुँदै भन्नु भयो, “यही कारण तीव्र गतिका लागि विकास र सुशासनको काममा अघि बढिरहेको सरकार ढल्न पुग्यो।”

अध्यक्ष ओलीले आफ्नो पार्टी देश र जनताको हितमा केन्द्रित भएर अघि बढिरहेको दावी गर्नु भयो।

उहाँले पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारी जस्ता नेताहरुले देखाएको बाटोबाट आफ्नो पार्टी अघि बढने पनि बताउनु भयो। रासस

 


प्रतिक्रिया दिनुहोस्