माओवादी केन्द्रले सोमबारसम्म थप मन्त्रीको टुंगो लगाउने

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  २ : १८


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारमा जाने मन्त्रीहरुको टुंगो सोमबारसम्म लगाउने भएको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले सरकारमा पठाउने मन्त्री तथा संगठनमा रिक्त रहेका जिम्मेवारी सम्बन्धमा सोमबार सम्म निर्णय लिने भएको हो।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्त्री शेरबहादुर देउवासँग निर्णायक छलफल गरेर मन्त्रालयको संख्या यकिन गरेपछि मन्त्रीहरुको टुंगो लगाइने भएको हो।

आज बसेको स्थायी समितिको बैठकले त्यस्तो निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठका अनुसार एमालेको खनाल–नेपाल समूहले निर्णय नगर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताएका हुन्। उनका अनुसार उक्त पक्षले केही समय कुर्न भनेको छ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादले पनि ढिलाइ भएको भन्दै उनले अब ढिला गर्न नहुने निष्कर्षमा गठबन्धन पुगेको जनाए।

जसपाका अध्यक्ष उपेन्द्र यादव समूहले पार्टीको आधिकारिकता पाइसकेको भन्दै उनले अब खनाल–नेपाल र जसपा दुवैले छिटै निर्णय गर्नुपर्ने बताए।

हाल माओवादीको तर्फबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसालले देउवा सरकारमा जिम्मेवारी सम्हालिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्