संसदीय दलको नेता चुनिएपछि बाबुरामलाई लिएर बालुवाटार पुगे उपेन्द्र, प्रधानमन्त्रीसँग भयो यी विषयमा छलफल

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ९ : २३


जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। उनीहरुबीच शनिबार राति प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको हो।

शनिबार नै जसपा संसदीय दलको नेता चयन भएका यादव प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन्।

भेटमा सरकार विस्तारलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए। पद तथा गोपनीयताको शपथ लिएको १९ दिन बितिसक्दा समेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच मन्त्रालय भागबण्डाको टुंगो लागिसकेको छैन। देउवालाई विश्वासको मत दिएको नेकपा (एमाले)को माधवकुमार नेपाल पक्ष भने सरकारमा सहभागी नहुने भएको छ।

करिब एक घण्टा चलेको छलफलमा मन्त्रिपरिषद् विस्तारसँगै जनताका दैनन्दिन समस्या सम्बोधनका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्