मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बग्यो, सात वडाको सडक सम्पर्क टुट्यो

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ८ : ५३


शनिबार रातिदेखि आएको बाढीले मेलम्ची चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो ।

मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ ।

त्यस्तै, बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ । नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

एक महिनापछि फेरि मेलम्चीमा बाढी आएको छ। बाढीले चनौटेको रातो पुल बगाएको छ। तस्वीर : देवराज सुवेदी/रासस
एक महिनापछि फेरि मेलम्चीमा बाढी आएको छ। बाढीले चनौटेको रातो पुल बगाएको छ। तस्वीर : देवराज सुवेदी/रासस

मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ । यसअघि हेलम्बु गाउँपालिकाको नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई सो गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गरेका थिए । रासस


प्रतिक्रिया दिनुहोस्