काँग्रेसमा सभापतिको दौडमा रहेका तीन नेताबीच भेटवार्ता

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ८ : ०५


नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले आज भेटवार्ता गर्नुभएको छ।

कांग्रेसको १४औँ महाधिवेशनको मिति नजिकिएसँगै पार्टीमा प्रभावशाली मानिनुहुने उहाँहरूको भेटलाई कांग्रेसवृत्तमा अर्थपूर्णरूपमा हेरिएको छ।

नेता सिंहको निवास चाक्सिबारीमा भएको भेटमा उहाँहरूबीच मुलुकको राष्ट्रिय राजनीति र कांग्रेस आसन्न महाधिवेशनलगायत विषयमा छलफल भएको नेता सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिनुभयो।

उहाँहरूबीच संवैधानिक बाध्यतालाई समेत ख्याल गरेर आसन्न महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्नुपर्ने, प्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभएजस्तै सबै नागरिकलाई यथाशीघ्र कोरोनाविरुद्धको खोप दिलाउन सरकारले ध्यान दिनुपर्नेलगायत विषयमा छलफल भएको थियो।

कांग्रेसका संस्थापक नेताहरू विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका सुपुत्र उहाँहरू तीनै जनाले आगामी महाविधेशनका लागि पार्टीको केन्द्रीय सभापतिमा दाबी गर्दै आउनुभएको छ।

यसअघि पनि उहाँहरूले एकअर्काको निवासमा पालैपालो भेटवार्ता गर्नुभएको थियो। रासस


प्रतिक्रिया दिनुहोस्