प्रधानमन्त्री देउवाको निर्देशन- कोरोनाको तेस्रो लहर नियन्त्रणको तयारी तत्काल सुरु गर्नुस्

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ७ : २०


प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको सम्भावित तेस्रो लहर नियन्त्रणको तयारी तत्काल सुरु गर्न निर्देशन दिएका छन्।

अक्सिजनको प्रबन्ध गर्न, नाकाहरुमा कोरोनाको परीक्षण गर्न र बालबालिकाहरुका लागि विशेष सतर्कता अपनाउन प्रधानमन्त्री देउवाले निर्देशन दिए।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार साँझको बैठकमा उनले कोभिड महामारी नियन्त्रणका लागि कसरी संयन्त्रलाई चुस्त र प्रभावकारी ढंगले परिचालन गर्ने भन्ने विषयमा समेत चासो राखे।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको सीसीएमसीको बैठकमा महामारीको पछिल्लो अवस्था र आगामी रणनीतिबारे छलफल भएको थियो।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रधानसेनापति, सीसीएमसीका प्रमुख बालानन्द शर्मा र विभिन्न मन्त्रालयका सचिवको सहभागिता थियो।

नेपालमा पछिल्ला दिनमा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको छ। बढ्दो महामारी नियन्त्रण गरी जनजीवनलाई सामान्य तुल्याउने सन्दर्भमा बैठकमा छलफल भएको सीसीएमसीका एक अधिकारीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्