राष्ट्रिय जनगणना रोक्नु हुँदैन : बस्नेत

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ४ : १८


काठमाडौं । प्रतिनिधि सभाका सदस्य टेकबहादुर बस्नेतले राष्ट्रिय जनगणना रोक्नुनहुने बताउनुभएको छ।

शुक्रवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै बस्नेतले राष्ट्रिय जनगणना स्थगित गर्न लागेको जानकारी पाएकोले यसलाई रोक्न नहुने बताउनुभएको हो।

उहाँले राष्ट्रिय जनगणना नेपाल सरकारको सूचीमा छ, छैन भन्ने विषयमा ध्यानाकर्षण गराउनुभयो।

उहाँले भन्नुभयो, “नेपालमा पहिलो राष्ट्रिय जनगणना आजभन्दा ११० वर्षअघि बि.सं १९६८ मा भएको थियो, त्यतिबेला नेपालको जनसंख्या ५६ लाख ३८ हजार ६४९ थियो, यो सबैलाई जानकारी छ, अहिले ११ औँ राष्ट्रिय जनगणनाको लागि आवश्यक तयारी र आवश्यक बजेट पनि विनियोजन भइसकेको छ, कोरोना महामारीका कारण कार्यक्रम स्थगित भएको भन्ने सुन्नमा आएको छ,त्यसलाई स्थगित गर्नुहुँदैन, अगाडि बढाउनुपर्छ, सरकारको कार्यसूचीमा छ, छैन, नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु।”

त्यस्तै प्रतिनिधि सभाकी सदस्य डा. डिला संग्रौला पन्तले वर्तमान सरकारबाट नेपाली जनताल थुप्रै अपेक्षा गरेको बताउनुभयो।

कोरोनाको महामारीको कारण लाखौँ जनताले रोजगारी गुमाएको र लाखौँ बालबालिकाले पढ्न नपाएको गुनासो गर्दै उहाँले सरकारले कोभिड–१९ विरुद्धको खोप लगाउने कामलाई पहिलो प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। साथै उहाँले कोभिड–१९ का कारण घरेलु हिंसा बढेको बताउनुभयो।

उहाँले भन्नुभयो, “वर्तमान सरकारबाट नेपाली जनताले थुप्रै अपेक्षा गरेका छन्, कोरोनाको महामारीका कारण लाखौँ जनताले रोजगारी गुमाएका छन् र लाखौँ बालबालिकाले पढ्न पाएका छैनन्, त्यसैले आर्थिक रुपले कमजोर वर्गलाई तत्काल राहतको व्यवस्थापन गर्नुपर्छ, कोभिडका कारण घरेलु हिंसा महिलाविरुद्धका हिंसाका घटनाहरु बढेका छन्, प्रहरीको तथ्यांक अनुसार पछिल्लो दिनमा २२ प्रतिशत महिला, किशोरी बालिकाहरु हराउने गरेका छन्, ती मध्ये करिव १० जना भेटिन्छन्, आधा भन्दा बढी हराइरहेका छन्। त्यसैले नयाँ सरकारले महिला तथा बालबालिकाको उच्च प्राथमिकता दिन सरकारलाई ध्यानाकर्षण गराउँछु।”


प्रतिक्रिया दिनुहोस्