एमसीसीसँग गोप्य सम्झौता भएका छन्, सबै सार्वजनिक हुनुपर्छ : भीम रावल

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  २ : ५८


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयन सम्झौंता संसदमा पेश गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले एमसीसी कार्यान्वयन सम्झौंतामा रहेका कतिपय प्रावधान राष्ट्रघाती रहेको उल्लेख गर्दै त्यसलाई संशोधन नगरी संसदबाट पारित हुन नदिने चेतावनी समेत दिए।

उहाँले एमसीसीमा राखिएको कतिपय प्रावधान नेपालको संविधान विपरित रहेको, त्यो नेपालको सार्वभौैमिकता, स्वतन्त्रता, स्वाधिनता, नेपालको राष्ट्रको हित विपरित रहेकाले त्यसलाई संशोधन नगरी अघि बढाउन नमिल्ने बताए।

उपाध्यक्ष रावलले भने, “एमसीसीसँग भएका सबै सम्झौता संसदमा पेश गर्नु पर्दछ। जनताले त्यस सम्झौतामा उल्लेख भएका सबै विषय थाहा पाउनु पर्दछ। प्रतिनिधिसभाका प्रत्येक सदस्यले त्यो थाहा पाउनुपर्ने अधिकार छ। त्यहाँ भएका नेपालको राष्ट्रिय हित, स्वाधिनता, स्वतन्त्रता, स्वभिमान र नेपालको स्वतन्त्र परराष्ट्र नीतिका प्रावधानहरु परिवर्तन नभई त्यो सम्झौता गरियो भने राष्ट्रघात हुनेछ। नेपाली जनताले विगतमा पनि असमान सन्धिका कारण व्यहोर्नु परेको पीडाको फेरी पुनरावृत हुनेछ। त्यसका रहेका सम्झौता संशोधन गरेर मात्रै पारित गर्नु पर्दछ।”

उपाध्यक्ष रावलले विकासको नाममा कम्पनी खडा गरेर आफ्नो भूमि कुनैै पनि देशलाई सुम्पन नसकिने अडान दोहोर्याए।

नेपालमा कुनै पनि देशको लगानी ल्याउन पाईन्छ तर त्यो हाम्रो संविधान र स्वतन्त्र परराष्ट्र नीति अनुसार हुनु पर्दछ भन्दै उपाध्यक्ष रावलले सो सम्झौैतामा राखिएका कतिपय प्रावधान नेपालको हितमा नरहेको पटक पटक दोहोर्याए।

यस्तै नेता रावलले एमसीसीसँगका सबै दस्तावेज संसदमा सार्वजनिक गर्नुपर्ने माग राखे।

‘एमसीसीका सबै कागजात सार्वजनिक गरिएको छैन। यदि एमसिसी पास गर्ने हो भने पहिले त्यसका सबै सम्झौतका दस्तावेज संसदमा सार्वजनिक हुनुपर्छ,’ उनले भने, ‘जुनजुन बेला राजनीति परिवर्तन हुन्छ। सरकार परिवर्तन हुन्छ। नेपाली जनताको स्वाभिमान ओझेलमा पर्नेगरी सन्धी सम्झौता हुन्छन्। एमसीसी सम्झौता त्यस्तै हो। म यहाँबाट सदन र देशभक्त नेपालीलाई भन्न चाहन्छु। त्यो सम्झौता जुन सदनमा पेश भएको छ। अरु गोप्य सम्झौता पनि भएका छन्।’


प्रतिक्रिया दिनुहोस्