सरकारमा जाने/नजाने विषयमा माधव नेपालले आज निर्णय दिने

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ७ : ५७


नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार पक्षले सरकारमा जाने/नजाने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आज निर्णय दिने भएको छ।

नेपाल समूहलाई आजसम्म कुर्ने र त्यस आधारमा मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारीपछि नेपाल समूहले आफ्नो धारणा दिन लागेको हो।

त्यसका लागि आज प्रधानमन्त्री देउवा र एमाले वरिष्ठ नेता नेपाल तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छुट्टाछुट्टै भेट हुने सम्भावना पनि छ।

नेपाल पक्षका सांसद मेटमणि चौधरीले आफूहरु सरकारमा जाने पक्का भएको बताए। दैनिकअनलाइनसँगको कुराकानीमा उनले नेता नेपालले यसबारे आजै प्रधानमन्त्री देउवालाई जानकारी दिने पनि बताए।

उनले एमालेको एकता अझैं नटुंगिएका कारण सरकारमा जान समस्या नरहेको बताए। आफूहरूकै कारण प्रतिनिधि सभा जोगिएकाले सरकारमा जानु स्वभाविक भएको उनको भनाइ छ।

पार्टी एकतालाई पनि सँगसँगै अघि बढाउने र सरकारमा पनि जाने सांसद चौधरीले बताए।


प्रतिक्रिया दिनुहोस्