बाघको बासस्थानलाई सुरक्षित गराउन प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ६ : २६


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थानलाई सुरक्षित गराउन तर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ।

विश्व बाघ दिवसको अवसरमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले बाघको बासस्थानका लागि जंगल आवश्यक रहेको र जंगल जोगाउने तर्फ ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभएको हो।

उहाँले बाघको वासस्थानको सुरक्षा गर्दै चोरी निकासी रोक्नुपर्ने बताउनुभयो।

प्रधानमन्त्री देउवाले बाघ र मानिसका विचमा समस्या रहेको भन्दै ती समस्याहरुको समाधानका उपाय निकाल्नु आवश्यक रहेको बताउनुभयो।

उहाँले भन्नुभयो – ‘बाघको लागि जंगल आवश्यक छ । जंगल र बाघ एक अर्काको लागि आवश्यक कुरा हुन् । बाघको बासस्थान सुरक्षित गर्न विशेष ध्यान दिनुपर्छ ।’

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रकृति संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो।

उहाँले आफु प्रधानमन्त्री रहँदा सहयोद्धाहरु राम्रो भएकाले प्रकृति संरक्षणको सम्बन्धमा राम्रो काम गर्न सकेको भन्दै त्यसप्रति आफुलाई आनन्द र गौरवबोध हुनेगरेको बताउनुभयो। उहाँले प्रधानमन्त्री देउवालाई काविल र रचनात्मक सहयोगीहरु राख्न पनि सुझाव दिनुभयो।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्री मात्रै पर्याप्त हुँदोरहेनछ। सहयोगी, सहयोद्धाहरु पनि त्यस्तै काविल चाहिन्छ । समर्पित चाहिन्छ । रचनात्मक चाहिन्छ।’

उहाँले बाघको रक्षामा सबैले ध्यान पु¥याउनुपर्ने बताउनुभयो। प्रकृतिको संरक्षण भए मात्रै मानव जातिको संरक्षण हुने उहाँले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्