आफूजस्तै युवतीहरुलाई बेच्न सहयोग गर्ने २ युवती पक्राउ

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ३ : ४३


काठमाडौं । आफू जस्तै उमेरका युवतीहरुलाई प्रलोभन देखाएर बेच्न सहयोग गरेको आरोपमा २ युवती पक्राउ परेका छन।

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा वीरगन्ज महानगरपालिका–१६ इनर्वाबाट मंगलबार प्रहरीले झापा विर्तामोड–९ ठेगाना भएकी २० वर्षीया लक्ष्मी दास र सुनसरी इटहरी उपमहानगरपालिका–१२ ठेगाना भएकी १९ वर्षीया खुश्बु विश्वकर्मालाई पक्राउ गरेको छ।

उनीहरूले झापाबाट १६ वर्षीया किशोरी र २० वर्षीया युवतीलाई भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा पुर्याई बेचबिखन भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतीय काउन्टरपार्ट्ससँगको समन्वयमा उनीहरुको उद्धार गरेको थियो।

पक्राउ परेका युवतीहरुले ती किशोरी र युवतीलाई वीरगंजमा आकर्षक तलब हुनेमा जागिर लगाइदिने भन्दै प्रलोभनमा पार्ने गरेका थिए।

वीरगन्ज बसपार्कसम्म ल्याई काम गर्ने ठाउँसम्म पुर्याउने भन्दै झुक्याईने र भारत बिहारको छौँडादानो भन्ने स्थानमा लगी भारतकै अन्यत्र पठाउन खोजेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्