हिंसा हुन नदिन सरकार गम्भीर छ : गृहमन्त्री खाँड

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ९ : १८


गृहमन्त्री बालकृष्ण खाँणले महिला तथा बालबालिकाविरुद्धका हिंसा रोक्न सरकार गम्भीर रहेको बताउनुभएको छ।

महिला तथा बालबालिकामाथि हुने हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालले आज गृह मन्त्रालयमा बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले महिला तथा बालबालिका माथि भइरहेको हिंसा रोक्न सरकार अत्यन्त संवेदनशील र गम्भीर रहेको बताउनुभएको हो।

“सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा गर्नु हो, निर्वाध ढङ्गले जनता बाँच्न पाउने सुरक्षा अनुभूति र सुरक्षा राज्यले प्रदान गर्छ”, उहाँले भन्नुभयो।

सञ्जालकी अध्यक्ष कल्याणी रिजालले मुलुकमा पछिल्लो समय महिला हिंसाको घटना बढेको भन्दै महिला तथा बालबालिकामा हुने हिंसाको निष्पक्ष छानविन गरी अपराधीलाई हदैसम्मको सजाय र पीडितलाई उचित राहतको व्यवस्था गर्न गृहमन्त्रीसँग आग्रह गर्नुभएको थियो।

सञ्जालले निषेधाज्ञाका समयमा महिला तथा बालबालिकामाथि बलात्कार, हत्याजस्ता अमानवीय र क्रुर घटना बढेको बताएको छ। रासस


प्रतिक्रिया दिनुहोस्