देउवा सरकारसँग मिलेर काम गर्न इच्छुक छौं : चिनियाँ प्रधानमन्त्री

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ७ : २५


काठमाडौं । शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा चीनका प्रधानमन्त्री ली खछ्याङले हार्दिक बधाई ज्ञापन गर्दै उहाँको कार्यकालको सफलताको कामना गर्नुभएको छ।

चिनियाँ प्रधानमन्त्रीले आफ्ना नेपाली समकक्षी देउवालाई आज बधाई सन्देश पठाएर चीन र नेपालबीचको रणनीतिक सम्बन्ध र साझेदारी तथा अनन्तकालसम्म रहिरहने मैत्री चिनियाँ चाहना भएको बताउनुभएको छ ।

सन्देशमा चिनियाँ प्रधानमन्त्रीले वेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)मार्फत सहयोग, कोरोना महामारी नियन्त्रण, त्यसविरुद्धको प्रतिकार्य तथा महामारीका कारण थलिएको अर्थतन्त्रको पुनरुत्थानमा सघाउन चीन क्रियाशील रहने उल्लेख गर्नुभएको छ।

साथै उहाँले पारस्परिक हितका खातिर काम गर्न तथा चीन र नेपालबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ तुल्याउँदै नयाँ उचाइ चुम्ने अभिलाषा प्रकट गर्नुभएको छ।

नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री देउवालाई उक्त मन्त्रालयमार्फत आफ्ना प्रधानमन्त्रीको सन्देश आजै परराष्ट्रका अधिकारीलाई बुझाउनुभएको हो।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सामाजिक सञ्जाल मार्फत बधाई दिएको उल्लेख गरेकी छन्।

‘प्रधानमन्त्री ली खछ्याङले आफ्ना समकक्षीसँग दुवै देशबीच रहेको रणनीतिक साझेदारी नयाँ उचाईमा पुर्‍याउन मिलेर काम गर्न चाहेको बताएका छन्’ राजदूत होउ यान्छीले ट्विटरमा लेखेकी छन्।


प्रतिक्रिया दिनुहोस्