बढ्दै कोरोना : ३ हजार ८४० संक्रमित थपिए, ३३ जनाको मृत्यु

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ४ : ३२


देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार ८४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार ८८६ पिसिआर परीक्षणमा दुई हाजार ६३४ र चार हजार ९२२ एन्टिजेन परीक्षणमा एक हजार २०६ जना गरी जम्मा तीन हजार ८४० जनामा सङ्क्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या छ लाख ८८ हजार ३०७ पुगेको छ।

एन्टिजेन परीक्षणमा सङ्क्रमित हुनेको सङ्ख्या ५८ हजार ३५० रहेको छ।

पछिल्लो समय थप एक हजार ९९३ जना निको भएका छन्।

योसँगै निको हुनेको सङ्ख्या छ लाख ४९ हजार ७२ पुगेको छ। निको हुने दर ९४ दशमलव ३ रहेको पनि मन्त्रालयले जनाएको छ।

हाल नेपालमा २६ हजार ६५२ जना होम आइसोलेशन तथा दुई हजार ७९२ जना संस्थागत आइसोलेशन छन्।

त्यसैगरी ६११ जना आइसीयु र १६८ जना भेन्टिलेटरमा उपचाररत छन्। देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार ४४४ जना रहेको छ।

थप ३३ को मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ७९१ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ३३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ भने मृत्यु दर १।५ प्रतिशत रहेको छ।

काठमाडौँ उपत्यकामा ८०० बढी सङ्क्रमित

पछिल्लो समय काठमाडौँमा सबैभन्दा धेरै ५५९, ललितपुरमा २०६, भक्तपुरमा ९४, कास्कीमा ३१६, झापामा १९४, मोरङमा १८९, चितवनमा १८५ र सुनसरीमा १७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा हालसम्ममा १५ लाख तीन हजार ३१२ ले पूर्ण खोप लगाएका छन् भने ३५ लाख ४४ हजार ४३ ले पहिलो मात्रा लागाएका छन्।



प्रतिक्रिया दिनुहोस्