जसपाको कार्यकारिणी बैठक आज पनि बस्दै

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ८ : ५५


जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति बैठक आज पनि बस्ने भएको छ। बैठक ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा दिउँसो एक बजे बस्नेछ। आज मंगलबारकै बैठकलाई निरन्तरता दिन लागिएको हो।

बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने एक नेताले बताए।

निर्वाचन आयोगले पार्टीको आधिकारिता दिएपछि अध्यक्ष यादवले कार्यकारिणी समितिको बैठक बोलाएका हुन्। हिजोदेखि जारी बैठकमा यादव पक्षका ३४ जना कार्यकारिणी सदस्य सहभागी छन्।

यसअघि हिजोको बैठकले संसदीय दलको विधान पारित गरेको छ। दलको विधान पारित भएसँगै अध्यक्ष उपेन्द्र यादव पुनः दलको नेता बनेका छन्।

जसपा एकीकृत भए पनि संसदीय दलको विधान तत्कालीन राजपाबाट महन्थ ठाकुर र तत्कालीन समाजवादी पार्टीबाट उपेन्द्र यादव भएका थिए। पार्टी एक भए पनि दलको विधान छुट्टाछुट्टै थियो।

निर्वाचन आयोगबाट यादव पक्षले दलको अधिकारिकता पाएपछि यादव नै दलको नेता भएका चयन भएका हुन्।

मंगलबारको बैठकले लुम्बिनी प्रदेशका जसपाका तीन सांसदलाई कारबाही गरेको छ। बैठकले लुम्बिनी प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डे, विजयकुमार यादव र कल्पना पाण्डे लम्साललाई कारबाही गर्ने निर्णय गरेको थियो।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि पाण्डे, यादव र लम्साल तथा सुमन शर्मा रायमाझीले मन्त्री पदको शपथ लिएका थिए। उनीहरू मन्हथ ठाकुर पक्षका हुन्।

केन्द्रको सत्ता गठबन्धनले अब लुम्बिनीमा पनि सरकार परिवर्तनको तयारी गरेको छ।


प्रतिक्रिया दिनुहोस्