यसरी टुंग्याउँदैछ सत्ता गठबन्धनले मन्त्रालयको भागबन्डा

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ७ : १४


भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज बस्दैछ। आजको बैठकमा मन्त्रालयको भागबन्डा टुंगो लाग्ने सम्भावना छ।

सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले तयार पारेको प्रारम्भिक खाकाबारे आजको बैठकमा छलफल हुने नेताहरूले बताएका छन्।

सांसद् संख्याका आधारमा कार्यदलले कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादीलाई सात, जनता समाजवादी पार्टी र नेकपा (एमाले)को माधवकुमार नेपाल समूहलाई तीन/तीन मन्त्रालय दिने कार्यदलले प्रस्ताव तयार पारेको छ।

तर, यसमा जसपाले असन्तुष्टि जनाएको छ। जसपाले कम्तिमा पाँच वटा मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ। संविधान अनुसार २५ सदस्यीय भन्दा ठूलो मन्त्रिपरिषद् बनाउन मिल्दैन। जसमा प्रधानमन्त्रीसहित २२ मन्त्री र तीन राज्यमन्त्री रहन सक्छन्।

कार्यदलका सदस्यहरुका अनुसार कांग्रेस र माओवादी सात/सात तथा जसपा र नेपाल समूहलाई चार/चार मन्त्रालय राखेर सहमति जुटाउने सम्भावना छ।
माधवकुमार नेपाल समूहले सरकारमा जाने औपचारिक निर्णय गरिसकेको छैन। तर, नेपाल समूहका सांसद मेटमणि चौधरीले भने आफूहरू सरकारमा सहभागी हुने बताए। संसद् जोगाउन आफूहरूले महत्वपूर्ण भूमिका खेलेको र सरकारमा जानु अन्यथा नभएको बताए।

सरकारमा सहभागिता र भागबण्डाका विषयमा मंगलबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता नेपालबीच भेटवार्ता भएको थियो।

मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले सोही दिन कांग्रेस र माओवादी केन्द्रका तर्फबाट चार जनालाई मन्त्री नियुक्त गरेका थिए। त्यसपछि स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन्।

अहिले मन्त्रिपरिषदमा बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की कानुन, जनार्दन शर्मा अर्थ, पम्फा भुसाल ऊर्जा मन्त्री र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन्।


प्रतिक्रिया दिनुहोस्