कांग्रेस पदाधिकारी बैठक आज, महाधिवेशन कार्यतालिकाबारे छलफल हुने

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ६ : ४७


नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। बैठक पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ११ बजे तय भएको छ।

यसअघि मंगलबारका लागि तय भएको बैठक स्थगित भएको थियो। मंगलबार क्रियाशील सदस्यता छानबिन समितिले तयार गरेको प्रतिवेदन सभापति देउवाले बुझेसँगै प्रतिवेदन अध्ययन गरी आगामी रणनीति तयार पर्ने भन्दै बैठक स्थगित गरिएको हो।

आजको बैठक महाधिवेशनको विषयमा केन्द्रित रहने बताइएको छ। बैठकमा यसअघि रोकिएको वडा अधिवेशन कहिले गर्ने भन्नेबारे छलफल हुनेछ।

बैठकले प्रतिवेदनले बाँकी राखेका विषयलाई समेत टुंग्याउने मापदण्ड बनाउने बताइएको छ।

बैठकले तल्लो संरचनाको अधिवेशनको नयाँ मितिबारे निर्णय गर्नेछ। यसअघि मंगलबारदेखि सुरु हुने भनिएको तल्लो तहको अधिवेशन स्थगित गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्