बलाधिकृत रथी शर्मालाई कामु प्रधानसेनापतिको जिम्मा दिने निर्णय

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ५ : ५०


काठमाडौं । सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आजको बैठकले साउन २५ देखि लागू हुने गरी शर्मालाई कायममुकायम प्रधानसेनापति जिम्मेवारी दिने निर्णय गरेको हो।

सरकारका प्रवक्तासमेत रहनुभएका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्ले रथी शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिनुभयो।

राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ।

रथी शर्मा हाल बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारीमा हुनुहुन्छ। सन् १९६४ जनवरी ५ मा काठमाडौँमा जन्मिनुभएका शर्मा आगामी भदौ २५ गतेदेखि सेनाको ४४ औं प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ।

भारतबाट डिफेन्स कोर्स गर्नुभएका रथी शर्मा त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नात्तकोत्तर हुनुहुन्छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोस्थित नेपाली शान्ति मिसनको नेतृत्व अनुभव सम्हाल्नुभएका रथी शर्माको सैनिक सङ्गठनमा बौद्धिक र भद्र व्यक्तिका रुपमा परिचय स्थापित छ।

नेपाली सेनामा प्रधानसेनापति अवकाशको एक महिनाअघिबाटै बिदा बस्ने परम्परा छ। उक्त परम्पराअनुसार प्रधानसेनापति थापा साउन २५ गतेदेखि बिदामा बस्नुहुनेछ।

प्रधानसेनापति थापाको सैनिक मुख्यालय जङ्गी अड्डाले औपचारिक बिदाइ भने भदौ २५ गर्नेछ।

नेतृत्व सहज हस्तान्तरण गर्ने क्रममा प्रधानसेनापति थापाले जेठ २३ बाटै उक्त प्रक्रिया शुरु गर्नुभएको हो।

उहाँले आफ्नो तीन वर्षे नेतृत्वकालमा सङ्गठनमा विधि र पद्धति सुधारको विषयलाई प्राथमिकताका साथ अघि बढाउनुभएको छ।


प्रतिक्रिया दिनुहोस्