पञ्चाननब्बे प्रतिशत रोपाइँ

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ४ : ५९


खोटाङ । जिल्लामा १२ हजार ८९८ हेक्टर जमीनमा धानखेती गरिँदै आएकामा हालसम्म ९५ प्रतिशतभन्दा बढी भागमा रोपाइँ भएको छ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यसवर्ष समयमै पर्याप्त वर्षा भएका कारण साउन १५ अगावै रोपाइँ गर्न सहज भएको हो।

चैते धान र मकै भित्र्याउन बाँकी भएकाले बेँसी क्षेत्रमा रोपाइँ हुन बाँकी रहेको जिल्ला कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले बताउनुभयो।

“चैते धान र मकै भित्र्याएपछि त्यहाँ पनि रोपाइँ हुनेछ” उहाँले भन्नुभयो,“जिल्लामा कूल १४ हजार १५९ हेक्टर खेतीयोग्य जमीन भए पनि १२ हजार ८९८ हेक्टर जमीनमा मात्र धान लगाउने गरिएको छ।”

सिमसार भएका खेतमा जेठको अन्तिम सातादेखि रोपाइँ हुने तर सिञ्चित र असिञ्चित खेतमा वर्षा भएपछि मात्र रोपाइँ हुने गरेको छ। सिञ्चित खेतमा जुनसुकै समयमा रोपाइँ गर्न सकिए पनि आकाशे पानीको भरमा रोपाइँ हुने खेतमा वर्षा हुन थालेपछि किसान खेतमा पुग्ने गरेका छन्।

जिल्लाको हौँचुर, खार्पा, दिक्तेल, नेर्पा, दोर्पाचिउरीडाँडा, मात्तिम, छोरम्बु, बतासे, सप्तेश्वरछिता पोखरी, सिम्पानी, ईन्द्रेणी पोखरी, लिच्कीराम्चे, बड्कादियाले, सावा कटहरे, खोटाङ बजारलगायत ठाउँमा बढी धानखेती हुन्छ। तीमध्ये सिञ्चित ११ हजार ४०० हेक्टर र तीन हजार ८०२ हेक्टर जमीन छ।

दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा रावाबेँसी, केपिलासगढी, ऐसेलुखर्क, साकेला, दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकामा अहिले धमाधम रोपाइँ भइरहेको र रोपाइँको काम अन्तिम चरणमा पुगेको केन्द्रले जनाएको छ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकामा भने रोपाइँ ढिलो शुरु भएको छ।

उक्त दुई गाउँपालिका बेँसी क्षेत्रमा पर्ने भएकाले गत असार १५ देखि मात्रै रोपाइँ थालिएको हो। यसवर्ष समयमै पानी परेकाले शत–प्रतिशत रोपाइँ हुने भएको र उत्पादनसमेत बढ्ने अनुमान गरिएको केन्द्रका निमित्त प्रमुख राईले बताउनुभयो।

दश स्थानीय तह रहेको जिल्लामा उन्नत जातअन्तर्गत मकवानपुर– एक, खुमल प्रजाति, राधा तथा स्थानीय प्रजातिका बास्मती, चम्पासरी, पात्लेमार्सी, अटेमार्सीलगायत धानको बिउ रोपिएको छ।

खेतीपातीबाहेक अन्य आम्दानीको अन्य स्रोत नहुने यस जिल्लामा गतवर्ष लामो समयसम्म खडेरी परेकाले ४० प्रतिशत खाद्यान्न उत्पादन घटेको केन्द्रको अनुमान छ।

दैनिक छाक टार्न एक मात्र विकल्प रहेको खेतीपातीमा लामो समयको खडेरी र फौजी कीराको प्रकोपले सताएकाले हलेसी तुवाचुङ नगरपालिकाका बासिन्दा भोकमरीमा पारेका थिए।

खाद्यान्न सङ्कट भएकाले नगरपालिकाले रु एक करोड ३० लाख बराबरको चामल खरीद गरेर त्यहाँ वितरण गरेको थियो।

सिन्कौली खेतीमा आकर्षण

गाउँमा विरलै पाइने बास्नादार मसला सिन्कौली खेतीतर्फ यहाँका किसान आकर्षित भएका छन्। व्यावसायिकरुपले खोती खेती नगरिए पनि पछिल्लो समय व्यापारीले यसको खोजी गरी खरीद गर्न थालेकाले किसानले यसै वर्षबाट सिन्कौलीको बिरुवा रोप्न थालेका हुन्।

सिन्कौली अर्थात् तेजपात (दालचिनी)का नामले प्रख्यात मसलाको रुख हो। यसको पात, बोक्रा र जरासमेत मसलाको रुपमा प्रयोग हुँदै आएको छ। सिन्कौलीको विभिन्न भाग उचित मूल्यमा बिक्री हुने भएकाले किसान यसतर्फ आकर्षित भएका हुन्।

अब नया प्रविधिको प्रयोगसँगै कमजोर आर्थिकस्तरका किसानले नयाँ विकल्प खोज्न थालेको जिल्ला वन महासङ्घका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो।

किसानले हाल डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासङ्घ र विभिन्न कृषि फर्मसँगको सल्लाहमा सिन्कौलीको बिरुवा निःशुल्क वा किनेर पनि खाली जमीनमा रोप्न थालेका छन्।

नजिकैको थोक बजारमा सिन्कौलीको पात प्रतिकिलो रु ६० र बोक्रा प्रतिकिलो रु १५० का दरले बिक्री हुँदै आएको छ।

छिमेकी जिल्ला उदयपुरको बेल्टार, गाईघाट, कटारीलगायत बजारमा सिन्कौली सङ्कलन गरिन्छ।

थोरै लगानीमा धेरै आयआर्जन हुने भएकाले यहाँका किसान सिन्कौली खेतीतर्फ आकर्षित हुन थालेका महासङ्घका अध्यक्ष राईले बताउनुभयो।

“सदाबहार हरियाली रहने सिन्कौलीखेती वातावरणीय हिसाबले समेत उत्तिकै फाइदाजनक छ”, उहाँले भन्नुभयो, “हाम्रो जिल्लामा यसको राम्रो सम्भावना पनि छ। बजार पनि राम्रो छ।”

सामुदायिक वन क्षेत्र तथा व्यक्तिका बाँझो जमीनमा सिन्कौली लगाएर वैकल्पिक आयआर्जन गर्न सकिने अध्यक्ष राईले बताउनुभयो।

सिन्कौली चिया, पुलाउ, मासुको परिकार लगायतलाई सुगन्धित र स्वादिष्ट बनाउन मसलाका रुपमा प्रयोग गरिन्छ।

बजारमा पाइने अधिकांश मसलामध्ये दालचिनीको नाममा यसको व्यापार व्यापक छ।

सिन्कौलीको उपयोगिताका बारेमा गाउँघरमा कम जानकारी भएका कारण हालसम्म त्यसको पालुवा गाईवस्तुलाई घाँस तथा रुखलाई दाउरा र काठकारुपमा प्रयोग गर्ने गरिएको थियो।

बढी मात्रामा सिन्कौली हुर्काएका किसानले पात टिपी सुकाएर उदयपुरको बेलटारमा बिक्री थालेका छन्।

यसको पात र बोक्राबाट मसला, औषधिजन्य तेलसमेत उत्पादन हुने गर्दछ।

सिन्कौलीको पात र बोक्राबाट निकालिएको तेल पाचनशक्ति बढाउन, रोकिएको पिसाब खुलाउन तथा मुटुसम्बन्धी रोगको उपचारमा समेत उपयोग हुने अध्ययनमा भेटिएको अध्यक्ष राईले जानकारी दिनुभयो। रासस


प्रतिक्रिया दिनुहोस्