देउवा प्रधानमन्त्री भएपछि गच्छदार छुटे, अब आलम संसदमा आउने त होइनन्? : सांसद गिरी

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ३ : ४९


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका सांसद पदम गिरीले गठबन्धन सरकार बनेलगत्तै अपराधी र भ्रष्टाचारीहरूले उन्मुक्ति पाउन थालेको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले विजय गच्छदार सामान्य धरौटीमा छुट्नुले अब अफताब आलमहरू पनि छुटेर संसदमा आउने संकेत देखिएको दावी गरे।

सांसद गिरीले भने, ‘यो निर्दलीय सरकार आउनासाथ बालुवाटारको जग्गा बेचबिखन गरेर खाने बिजय गच्छदार सामान्य धरौटीमा छुटेका छन्। भोलि कतै १२ जना मजदुरलाई भट्टामा पोल्ने अफताब आलमहरू पनि छुटेर यही ठाउँमा आउने त होइनन्? सरकारले यो प्रवृतिलाई प्रश्रय दिने त होइन? जनता चिन्तित छन्।’

उनले कोभिड–१९ सङ्क्रमण रोकथामका लागि खोप प्रभावकारी रुपमा अघि बढाउन, बाढीपहिरो पीडितलाई राहत र सुरक्षित बसोबासको व्यवस्था गर्न तथा अघिल्लो सरकारले शुरु गरेको विकास निर्माणलाई बिना प्रतिशोध अघि बढाउन पनि माग गरे।

देश कोराना कहरले आक्रान्त र उद्योगधन्दा अस्तव्यस्त रहेको जनाउँदै खोप व्यवस्थित ढङ्गले अघि बढाउन उनको सुझाव छ।

उनले भने, “छिमेकीका घरमा आश्रय लिइरहेका बाढीपहिरो पीडितलाई राहत र पुनर्वासका कार्यक्रम ल्याउनुस्, सुकुम्बासीलाई निराश बनाउने काम नहोस्, सरकारले प्रतिशोधको भावनाले अघिल्लो सरकारले शुरु गरेका विकास र समृद्धिका कार्यक्रमलाई प्रभावित नतुल्याइयोस्।”


प्रतिक्रिया दिनुहोस्