सबै वडाबाट कोभिड विरुद्धको खोप

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ३ : ३८


काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले नागरिकको सुबिधाका लागि वडा–वडामै कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको छ।

यसअघि नगरभित्र दुई ठाउँमा खोप केन्द्र राखिएकामा नगरपालिकाले अब १३ वटै वडाबाट खोप लगाउने तयारी गरेको हो ।

कोरोना सङ्क्रमणको जोखिम बढिरहेको र निश्चित ठाउँमा मात्रै खोप केन्द्र राख्दा नागरिकले कष्ट व्यहोर्नुपरेको गुनासो आएकाले नगरभित्रका सबै वडामा खोप केन्द्र सञ्चालन गर्ने तयारी गरिएको नगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख कुमारप्रसाद दाहालले बताउनुभयो।

तोकिएको उमेर समूहका भन्दा पनि अन्य मानिस खोप केन्द्रमा उपस्थित हुँदा व्यवस्थापनमा साह्रै समस्या भयो।

भिडभाड पनि बढी भएकाले सङ्क्रमणको जोखिम कम गर्दै नागरिकको सेवा र सन्तुष्टि बढाउन वडामै खोप लैजाने तयारी गरिएको उहाँको भनाइ थियो।

मङ्गलबारदेखि नै ४५–४९ उमेर समूहलाई चाइनीज भेरोसेल (पहिलो मात्रा) लगाउन थालिएको नगरप्रमुख उद्धबप्रसाद खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “माग अनुसार एकै पटक त सक्ने अवस्था नभए पनि सबै नागरिकलाई खोप उपलब्ध गराउने र सङ्क्रमणबाट बचाउने अभियानमा हामी छौं।” रासस


प्रतिक्रिया दिनुहोस्