ओली सरकार जस्तै गफाडी यो सरकार नहोस् : गगन थापा

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  २ : २३


काठमाडौं । नेपाली काँग्रेसका सांसद गगन थापाले शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताप्रति उत्तरदायी भएर काम गर्न आ्रह गरेका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता थापाले अघिल्लो सरकार जस्तो बालुवाटारबाट बादर्लीमा सीमित हुने गरी विकृत काम गर्न नहुने सुझाव दिए।

सांसद थापाले संसद्लाई हेप्ने, अदालतलाई हप्काउने, विधि र विज्ञानलाई नपत्याउने, पालिका र प्रदेश सरकारलाई पङ्गु बनाउने, नजिकका मान्छेलाई मात्रै पोस्ने, बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने जस्ता गलत कर्मका कारण केपी शर्मा ओली नेतृत्वको सरकार बालुवाटारबाट बालकोटको बार्दलीमा पुगेको बताए।

बैठकमा सांसद थापाले भने, ‘बाहिर सिंहजस्तो गर्जने भित्र लम्पसार पर्ने, यस्तैयस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार।’

थापाले संसद् र सरकारको नयाँ अध्याय सुरु भएको पनि बताए। ‘पुनस्स्थापित संसद्ले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय सुरु भएको छ। यो अध्यायको सुखान्तको लागि सरकार र संसद्सँग जनताका अपेक्षा छन्’, उनले भने।

‘संसद्लाई हेप्ने, अदालतलाई हप्काउने न विधि मान्ने न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने, जनताको दुहाइ दिने’, उनले अगाडी भने, ‘नयाँ सरकारलाई यस्तो कुनै कुरा पनि गर्ने छुट छैन। यस्तो हुन नदिन संसद्ले पनि संकल्प गर्नुपर्ने छ। संसद्लाई न बेवास्ता गर्न दिइनेछ न त कामविहीन बनाउने १ न त मनोमानी ढंगले स्थगित गर्न दिइनेछ न त छल्न। यो संसद् सरकारसँग डराउने होइन, सरकार यो संसद् र सांसदको प्रश्नसँग संसद्को निगरानीसँग डराउने हो।’

उनले यो सरकारले संसदको सम्मान गर्दै संसदको निर्देशन अनुसार काम गर्नुपर्ने बताए।

संसद् भवन नयाँ बानेश्वरमा चलिरहेको बैठकमा विभिन्न दलका सांसदले समसामयिक विषय र आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धित भनाइ राखिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्