सडक बिस्तारका लागि खनिएको खाल्डोमा परेर दाङमा मोटरसाइकल चालकको मृत्यु

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ९ : ४८


सडक बिस्तार गर्ने क्रममा खनेको खाल्डोमा परेर दाङमा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका-१० राईखनियानका ३५ वर्षीय चुडामणि भण्डारीको खाल्डोमा परेर आज मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरबाट घोराहीतर्फ छुटेको रा ६ प ७२५ नम्बरको मोटरसाइकल तुलसीपुर ७ पर्सेनीमा खाडलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।

उक्त खाडल तुलसीपुर–घोराही सडक खण्ड चार लेनमा बिस्तार गर्न भन्दै खनिएको थियो। सडक बिस्तार गर्ने क्रममा सडकको बीचमा ह्युमपाइप राख्न खनेको खाडल समयमै नपुर्दा त्यसैमा परेर भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर अचेत भएका भण्डारीलाई उद्धार गरेर राप्ती प्रादेशिक अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।


प्रतिक्रिया दिनुहोस्