आधिकारिकता पाएको भोलिपल्टै जसपाले बोलायो कार्यकारिणी बैठक

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ९ : ०६


जनता समाजवादी पार्टी (जसपा)ले आज मंगलबार  केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। अध्यक्ष उपेन्द्र यादवले दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेगरि कार्यकारिणी समितिको बैठक बोलाएका हुन्।

निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएको भोलिपल्टै केन्द्रीय कार्याकारिणी समितिको बैठक बस्न लागेको हो।

आजको बैठकले संसदीय दलको विधान पारित गर्ने र आधिकारिकता पाएसँगै पार्टी कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुने नेता महेन्द्रराय यादवले बताए।

जसपा एक भएपनि संसदीय दलको विधान तयार हुन सकेको थिएन। जसपामा दलको विधान कार्यकारिणी समितिमा छलफल गरी पारित गर्नुपर्ने व्यवस्था छ।

अब पार्टीको आधिकारिकता पाएपछि कसरी अघि बढ्ने भन्ने विषयमा बैठकमा छलफल हुने नेता यादवले भने। कार्यकारिणी समितिको बैठक सकिएपछि संसदीय दलको बैठक बस्ने पनि नेता यादवले जानकारी दिए।

आजै बस्ने संसदीय दलको बैठकले सरकारमा जाने मन्त्रीको विषयमा टुंगो लगाउने एक नेता बताए। जसपाको आधिकारिकता पाएको उपेन्द्र पक्षमा ३४ जना कार्यकारिणी समिति सदस्य र २२ जना सांसद पुगेका छन्।


प्रतिक्रिया दिनुहोस्