कांग्रेस पदाधिकारी बैठक बस्दै, क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाउने

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ८ : ३२


नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। बैठक आज मंगलबार बिहान १० बजे कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्नेछ।

सानेपास्थित केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताले धर्ना र आमरण अनसन जारी राखेकोले बैठक देउवाको निजी निवासमा राखिएको हो।

आजको बैठक महाधिवेशनको विषयमा केन्द्रित रहने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। आजको बैठकमा यसअघि रोकिएको वडा अधिवेशन कहिले गर्ने भन्नेबारे छलफल हुने बताइएको छ।

बैठकले तल्लो संरचनाको अधिवेशनको नयाँ मितिबारे निर्णय गर्ने बताइएको छ। यसअगाडि मंगलबारदेखि सुरु हुने भनिएको तल्लो तहको अधिवेशन स्थगित गरिएको थियो।

बैठकले नयाँ मितिको टुंगो लगाउने छ। यस्तै, शीर्ष तहमा भएको सहमति अनुसार केन्द्रीय समितिले उक्त निर्णयको अनुमोदन गर्नेछ।

यस्तै, रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज प्रतिवेदन बुझाउने भएको छ। सप्तरी र बाराको पुरै जिल्लामा नयाँ सदस्य र नवीकरणमा विवाद रहेको जनाउँदै समितिले त्यसमा समाधान निकाल्ने जिम्मेवारी शीर्ष तहलाई सुम्पने भएको छ।

सिन्धुपाल्चोक र रसुवामा समायोजनका क्रममा अस्पष्ट भएको निष्कर्ष निकाल्दै समितिले प्रतिवेदन बुझाउने लागेको हो। देशभरका करिब १२५ वडाभित्र अझै क्रियाशील विवाद छ।

यसअघिको पदाधिकारी बैठकमा आजसम्म काम गरिसक्ने र प्रतिवेदन बुझाउने लेखकले बताएका थिए। समितिमा पाँच हजार उजुरी परेका थिए।

समितिले लगभग ९८ प्रतिशत काम सकेको जनाएको छ। क्रियाशील विवादले महाधिवेशनलाई प्रभावित बनाउने देखिएको छ। कांग्रेसले  भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।


प्रतिक्रिया दिनुहोस्