३४२१ कोरोना संक्रमित थपिए, २५ जनाको मृत्यु

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ४ : ५०


पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण दर बढ्दो क्रममा रहेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिनयता कोरोना भाइरस सङ्क्रमण दर बढ्दो क्रममा रहेको पाइएको जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ४२१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। यो सङ्ख्या आइतबारभन्दा एक हजार १८४ ले बढी हो। आइतबार मुलुकभर दुई हजार २३७ सङ्क्रमित देखिएका थिए।

सोमबार १७ हजार २७२ जनाको नमूना परीक्षण गर्दा तीन हजार ४२१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। योसँगै मुलुकमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ३८ हजार ९१८ पुगेको छ। नेपालमा कोरोना भाइरस सङ्क्रमण दर १९.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

उपत्यकामा थप ९९९ जनामा सङ्क्रमण

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९९९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौँमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जना रहेको मन्त्रालयले जनाएको छ ।

एक हजार ६८६ जना सङ्क्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप एक हजार ६८६ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ४५ हजार ३०१ पुगेको छ। नेपाल सङ्क्रमणमुक्त हुने दर ९४।५ प्रतिशत रहेको मन्त्रालयले जनाएको ।

यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ७३८ पुगेको छ। नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने दर १.४३ प्रतिशत रहेको छ।

मुलुकमा ५०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला ११ पुगेका छन्। मन्त्रालयका अुनसार ती जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नवलपरासी (पूर्व), कास्की र रुपन्देही छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २२ पुगेका छन्।

सङ्क्रमितमध्ये ६६९ जना सघन उपचार कक्ष र १६६ जना भेन्टिलेटरमा छन्। होम आइसोलेशनमा २५ हजार ९३ र संस्थागत आइसोलेशनमा दुई हजार ८१५ जना रहेका छन्।


प्रतिक्रिया दिनुहोस्