सागका विजेता खेलाडी सम्मानित

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ४ : १६


काठमाडौँ । नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्स खेलका पदक विजेता खेलाडी आज नगदसहित सम्मानित हुनुभएको छ।

नेपाल एथलेटिक्स सङ्घद्वारा आज आयोजित कार्यक्रममा एथ्लेटिक्सका आठ पदकधारी तथा खेलाडी सम्मानित हुनुभएको हो।

१३औँ सागअन्तर्गत एथ्लेटिक्समा नेपालले तीन स्वर्णसहित कूल आठ पदक जितेको थियो ।

सागमा सन्तोषी श्रेष्ठ, गोपीचन्द्र पार्की र किरणसिंह बोगटीले नेपाललाई स्वर्णपदक दिलाउनुभएको थियो।

सन्तोषीले १० हजार मिटर, गोपीचन्द्र्रीले पाँच हजार मिटर र किरणले म्याराथनमा स्वर्ण जित्नुभएको थियो।

महिलाको म्याराथनमा पुष्पा भण्डारीले रजत जित्नुभएको थियो।

त्यस्तै सोमबहादुर कुमालले आठ सय मिटर, टङक कार्कीले १५ सय मिटर, हरिकुमार रिमालले पाँच हजार मिटर र दीपक अधिकारीले १० हजार मिटरमा कास्य पदक जित्नुभएको थियो।

कार्यक्रममा स्वर्ण विजेता खेलाडीले जनही रु एक–एक लाख प्राप्त गर्नुभयो।

त्यस्तै रजत पदक विजेता खेलाडीले रु ३५ हजार पाउँदा कास्य पकद विजेताले रु २० हजार प्राप्त गर्नुभयो।

पदक विजेता खेलाडीलाई एथलेटिक्स सङ्घका अध्यक्ष राजिवविक्रम शाहलगायतले पुरस्कार प्रदान गर्नुभयो। रासस


प्रतिक्रिया दिनुहोस्