जेलमा रहेका रेशम चौधरी हस्ताक्षर गर्न निर्वाचन आयोगमा

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  २ : ३९


काठमाडौं । जन समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी सदस्य रेशमलाल चौधरी निर्वाचन आयोगमा उपस्थित भएका छन्।

जसपाको आन्तरिक विवादमा हस्ताक्षर सनाखत गराउन डिल्लीबजार कारागारमा रहेका चौधरीलाई आयोग लगिएको हो।

उनलाई सोमबार दिउँसो निर्वाचन आयोग पुर्‍याइएको हो।

यसअघि उनको हस्ताक्षर जेलबाटै सनाखत गर्ने तयारी थियो। आयोगले पनि जेलमै गराउन पत्र पठाएको थियो।

आयोगको कार्यालय पुग्नासाथ दुवै समूहले उनलाई आफ्नो पक्षमा मतदान गर्न तानातान गरेका थिए।

तर रेशमले अहिलेसम्म कुनै निर्णय लिन सकेका छैनन्।

उनले आफूहरुले नेताहरुसँग छलफल गरेर मात्रै निर्णय लिने पत्रकारहरुलाई बताए।

अहिले दुवै समूहका नेताहरुसँग रेशमको छलफल चलिरहेको छ।

टीकापुर घट्नामा मुख्य दोषी ठहर गर्दै अदालतले सांसद चौधरीले जन्मकैदको फैसला सुनाएको छ।

जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ । बहुमत पुर्‍याउने पक्षलाई आयोगले आधिकारिकता दिँदै छ।

जसपा केन्द्रीय कार्यकारिणी सदस्यको सनाखतका लागि ५ बजेसम्मको समय आयोगले दिएको छ।

अहिलेसम्म ५० जनाले सनाखत गरिसकेका छन् । रेशम चौधरीले सनाखत गरेपछि निर्वाचन आयोगले निर्णय सुनाउने तयारी गरेको छ।


प्रतिक्रिया दिनुहोस्