फोटो जोड्ने पक्राउ परेपछि बाँस्कोटाको प्रश्न-‘बोल्न पाइन्छ भन्नेको शासन आएको हैन र?’

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ७ : १२


काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीको फोटो जोडर टिकटक बनाउने युवक प्रकाउ परेकोमा व्यंग्य गरेका छन्।

केपी शर्मा अ‍ोली नेतृत्वको सरकार हुँदा अधिनायकवादी भन्नेहरुमाथि व्यंग्य गर्दै बाँस्कोटाले ट्विट गरेका हुन।

नेपाल प्रहरीले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरेर टिकटक बनाउने एक जनालाई आज पक्राउ गरेको हो।

प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो तोडमोड गरी ‘ट्रोल भिडियो’ बनाइ सामाजिक सञ्जाल टिकटकमा पोष्ट गर्ने झापा मेचीनगरका सोमप्रसाद घिमिरेलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले सामाजिक सञ्जालमार्फत राष्ट्रपति र प्रधानमन्त्रीको चरित्र हत्या गरेकाले पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका घिमिरेलाई विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको सो ब्यूरोले जनाएको छ।

घिमिरेलाई जिल्ला अदालत झापाको आदेशले सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताए।


प्रतिक्रिया दिनुहोस्