प्रचण्डलाई भीम रावलको जवाफ- ढलेको होइन, एमाले ढाल्ने षडयन्त्रविरुद्ध उभिएको हुँ

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ७ : १८


काठमाडौं। नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो अभिव्यक्तिको प्रतिवाद गरेका छन्।

आफूले राजीनामा दिएको प्रकरणलाई एमाले ढाल्ने षडयन्त्रको विरुद्धमा उभिएको राववले बताएका छन्। शनिबार राति ट्विटरमा प्रतिक्रिया लेख्दै उनले पार्टी फुटाएर देश, जनता र वामपन्थी आन्दोलनको भलो नहुने बताएका छन्।

शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रावलको राजीनामालाई ‘ढलेको’ बताएका थिए।

‘सरकार गठनभन्दा अगाडि नै गठबन्धनलाई टुटाउन निकै कसरत भयो। त्यो कसरत हुँदाखेरी केही केही साथीहरु नपत्याउँदो किसिमले ढल्दिनुभयो। पछिल्लो राजीनामा प्रकरणसम्म तपाईं हामीलाई थाहा छ, गठबन्धनमा राम्रो भूमिका खेलेका बडो स्प्रिटका साथ ाम गरेका साथीहरु पनि ढले। गठबन्धन टुटाउन नसकेपछि गठबन्धनलाई बहुमत प्राप्त नहोस् भन्न झन् ठूलो कसरत सुरु भयो। हामीले पनि सकेको तागत लगायौं’, प्रचण्डले भनेका थिए।

तर, रावलले प्रत्युत्तरमा गठबन्धन सबैको आ–आफ्नो स्वार्थमा बनेको उल्लेख गरेका छन्। ‘देउवाको स्वार्थ प्रधानमन्त्री हुने, प्रचण्डको स्वार्थ आफ्ना पार्टीका मानिसलाई मन्त्री बनाउने, उपेन्द्र यादवको स्वार्थ महन्थ ठाकुरसँगको संघर्षमा जित हासिल गर्ने र माधवकुमार नेपालको स्वार्थ पार्टीमा स्वेच्छाचारी क्रियाकलापलाई पराजित गर्ने रहेको उनले लेखेका छन्।

‘कोही पनि आफ्नो पार्टी फुटाएर अरु कसैका सामु लम्पसार पर्न गठबन्धनमा सामेल भएका होइनन्’, रावलले भनेका छन्।

उनले राष्ट्रिय हितका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्न् कुन विधि हो भनेर प्रश्न गरेका छन्।

‘प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन, नेकपा एमालेलाई ढाल्ने षडयन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ। एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो?’, रावलले प्रश्न गरेका छन्।


प्रतिक्रिया दिनुहोस्